राष्ट्र बैंकको सम्पत्तिमा उल्लेख्य सुधार


काठमाडौं ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्षको वित्तीय अवस्था उल्लेख्य रूपमा सुदृढ भएको देखाएको छ । एक वर्षको अवधिमा राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व करिब १२ खर्ब रुपियाँले विस्तार हुँदै ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपियाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो आकार २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपियाँ रहेको थियो । विवरणअनुसार राष्ट्र बैंकको विदेशी मुद्रा सम्पत्तिमा सबैभन्दा ठूलो वृद्धि भएको छ । असार मसान्तसम्म विदेशी मुद्रा सम्पत्ति ३७ खर्ब ३० अर्ब २ करोड रुपियाँ पुगेको छ, जुन एक वर्षअघि २५ खर्ब ६७ अर्ब ३२ करोड रुपियाँ थियो । यसले मुलुकको बाह्य क्षेत्र सुदृढ हुँदै गएको संकेत गरेको छ ।

राष्ट्र बैंकले विदेशी वित्तीय साधनमा गरेको लगानी पनि विस्तार भएको छ । विदेशी बैंकमा राखिएको म्यादी निक्षेप ६१ अर्ब ५७ करोड ७८ लाख रुपियाँ पुगेको छ भने विदेशी धितोपत्रमा गरिएको लगानी २ खर्ब ६२ अर्ब ३२ करोड रुपियाँ नाघेको छ । त्यस्तै, सुन प्रमाणपत्रमा गरिएको लगानी २२ अर्ब ४७ करोड रुपियाँ पुगेको छ । विदेशी बैंकमा रहेको नगद तथा मौज्दात पनि बढेर २५ अर्ब ३५ करोड रुपियाँ पुगेको छ ।

बहुमूल्य धातुको मौज्दातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । राष्ट्र बैंकसँग रहेको सुन तथा चाँदीको कुल मौज्दात अघिल्लो वर्षको ५५ अर्ब ४१ करोड रुपियाँबाट बढेर ९१ अर्ब ६७ करोड रुपियाँ पुगेको छ ।

स्थानीय मुद्रामा रहेको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । यसमध्ये सरकारी धितोपत्रमा ११ अर्ब ३२ करोड रुपियाँ, बन्ड तथा म्यादी निक्षेपमा १३ अर्ब ९४ करोड रुपियाँ र अन्य कर्जासम्बन्धी लगानीमा ११ अर्ब ४१ करोड रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । दायित्वतर्फ चलनचल्तीमा रहेको नेपाली मुद्रा ८० अर्ब १६ करोड २८ लाख रुपियाँ पुगेको छ । अघिल्लो वर्ष सो रकम ७५ अर्ब ११ करोड २४ लाख रुपियाँ थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप ३९ अर्ब २५ करोड रुपियाँ तथा सरकारी निक्षेप १८ अर्ब ६० करोड रुपियाँ पुगेको छ ।

राष्ट्र बैंकको जगेडा कोष (रिजर्भ) पनि उल्लेख्य रूपमा विस्तार भएको छ । एक वर्षअघि ६७ अर्ब १० करोड रुपियाँ रहेको रिजर्भ बढेर असार मसान्तसम्म १ खर्ब ८ अर्ब ५७ करोड रुपियाँ पुगेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरणले विदेशी मुद्रा सञ्चिति, लगानी, बहुमूल्य धातुको मौज्दात तथा जगेडा कोषमा भएको वृद्धि मार्फत मुलुकको मौद्रिक तथा बाह्य वित्तीय आधार थप सुदृढ बन्दै गएको संकेत गरेको छ ।