लन्डन, (एजेन्सी) ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने महत्वाकांक्षा योजनाबाट पछि हटेको छ । व्यापक विरोध र आवश्यक बहुमत जुट्ने सम्भावना नरहेपछि फिफाले अन्ततः आफ्नो योजना योजना फिर्ता लिएको हो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विज्ञप्ति जारी गर्दै उक्त योजनाले फुटबल समुदायभित्र विभाजन सिर्जना गरेको र अब त्यसले आफ्नो मूल उद्देश्य पूरा नगर्ने स्पष्ट भएको बताए। उनले यस प्रस्तावलाई अब अगाडि नबढाइने घोषणा गरे ।
इन्फान्टिनोले यसअघि फिफाका २ सय ११ सदस्य राष्ट्रलाई योजना समर्थन गरेमा प्रत्येकलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेका थिए । यो योजना पुरुष तथा महिला विश्वकपसहित फिफाका प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले ल्याइएको थियो ।
तर युरोपेली फुटबल महासंघ (युइएफए) अन्तर्गतका ५५ सदस्य राष्ट्रले योजना कार्यान्वयन भए विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका थिए । त्यसपछि उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको महासंघ कन्काकाफले पनि प्रस्ताव अस्वीकार गरेको घोषणा ग¥यो ।
पछि एसियाली फुटबल महासंघ (एएफसी) पनि युइएफए र कन्काकाफसँग ऐक्यबद्ध भएपछि इन्फान्टिनोको प्रस्ताव पारित हुने सम्भावना लगभग समाप्त भएको थियो । यूईएफएले त इन्फान्टिनोले सबै विश्वास गुमाइसकेको बताएको थियो ।
यसबीच फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले फिफाकै प्रशासनलाई यस योजनाबारे भ्रममा पारिएको बताएका थिए भने इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले यो प्रस्तावलाई फुटबलका लागि खराब सम्झौता भन्दै राजीनामा दिएका थिए ।
इन्फान्टिनो अहिले आगामी मार्चमा हुने फिफा कंग्रेसमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा छन् । तर पछिल्ला घटनाक्रमले उनको नेतृत्वमाथि गम्भीर दबाब सिर्जना गरेको छ ।
फिफाले फिफा फरवार्ड इन्टरप्राइज (एफएफ) नामक नयाँ व्यावसायिक कम्पनी स्थापना गरेर विश्वकपलगायतका प्रमुख प्रतियोगिताको व्यावसायिक अधिकार सञ्चालन गर्ने र त्यसमा बाह्य लगानीकर्तालाई अल्पमत हिस्सेदारी बिक्री गर्ने योजना बनाएको थियो ।
लगानी बैंक जेपी मोर्गनले तयार पारेको २५ पृष्ठको दस्तावेजमा प्रतियोगिताको व्यावसायिक विस्तारमार्फत २०३५–२०३९ चक्रसम्म सदस्य संघहरूले थप आम्दानी पाउने दाबी गरिएको थियो।
प्रस्तावित लगानीकर्ता समूहको नेतृत्व अमेरिकी भेन्चर क्यापिटल कम्पनी थ्राइभ इटरनलले गर्ने अपेक्षा गरिएको थियो। उक्त कम्पनी जोशुआ कुशनरले स्थापना गरेका हुन्, जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ हुन् ।
इन्फान्टिनोलाई प्रतिस्थापन गर्न सक्नेहरू
आगामी फिफा निर्वाचनमा इन्फान्टिनोले उम्मेदवार दिने बताइसकेका छन् । उनी चौथोपटक फिफा अध्यक्ष बन्ने तयारीमा छन् । तर, कन्काकाफ, यूईएफए र एएफसीले इन्फान्टिनोलाई विश्वास गर्न छाडेपछि उनको जित कठिन हुनेछ ।
उनलाई प्रतिस्थापन गर्ने सक्ने व्यक्तिहरूमा कन्काकाफका अध्यक्ष भिक्टोर मोन्टाग्लीयानी, एएफसीका अध्यक्ष शेख सलमान बीन इब्राहिम अल खलिफा र पेरिस सेन्ट जर्मेन (पीएसजी र युरोपेली फुटबल क्लबका अध्यक्ष नासेर अल खेलाइफी रहेका छन् ।











प्रतिक्रिया