सुनसरीको सुरक्षा अवस्था व्यवस्थापन गर्न चार एआईजीसहित उच्च प्रहरी अधिकारी फिल्डमा


काठमाडौं।

सुनसरीबाट विकसित सुरक्षा अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहित उच्च तहका प्रहरी अधिकारीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरी जनशक्ति तथा स्रोत–साधनको परिचालन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण तथा आवश्यक नीति निर्देशनका लागि उनीहरूलाई जिम्मेवारी दिइएको हो। आवश्यकता अनुसार उनीहरूले प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदनसमेत पेश गर्नेछन्।

खटाइएका एआईजीमध्ये शिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा ईश्वरबाबु कार्कीलाई कोशी प्रदेश र सुनसरी क्षेत्रमा जिम्मेवारी तोकिएको छ।

यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यलाई सिरहा र अबिनारायण काफ्लेलाई सप्तरीमा परिचालन गरिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्र सिंह राठौरलाई पर्सा, दीप शमशेर जबरालाई रौतहट, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा तथा अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्ने, आवश्यक समन्वय गर्ने तथा परिस्थितिको निरन्तर अनुगमन गर्ने उद्देश्यले उच्च प्रहरी अधिकारीलाई फिल्डमा परिचालन गरिएको हो।