शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सशस्त्र प्रहरीको अपिल


काठमाडौं ।

देशका केही स्थानमा पछिल्ला दिनमा उत्पन्न असहज परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन अपिल गरेको छ।

शुक्रबार जारी सार्वजनिक अनुरोधमार्फत सशस्त्र प्रहरीले समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगले आफ्नो परिचालन भइरहेको जनाएको छ। नेपाली समाजले सदियौँदेखि आपसी संवाद, समझदारी, सहिष्णुता र सहअस्तित्वका माध्यमबाट जटिल समस्यासमेत समाधान गर्दै आएको उल्लेख गर्दै यस परम्परालाई कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।

सशस्त्र प्रहरीले हुलहुज्जत, हिंसा, दंगा, तोडफोड र आगजनीबाट कुनै पनि समस्या समाधान नहुने बरु समाज, राष्ट्रिय सुरक्षा र सामाजिक एकतामा गम्भीर असर पर्ने जनाएको छ। आवेग वा उत्तेजनामा आएर धार्मिक सहिष्णुता बिथोल्ने, द्वेष फैलाउने तथा हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ।

बलले घटनासम्बन्धी निष्पक्ष छानबिन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै अहिले संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय भएको उल्लेख गरेको छ।

साथै कुनै धर्म, समुदाय वा समूहप्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने अभिव्यक्ति तथा भ्रामक सूचना प्रचार–प्रसार नगर्न पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अपिल गरेको छ।