तराई घटनाप्रति डा. शेखर कोइरालाको अपिल: संयम र संवादबाट शान्ति कायम गरौं


काठमाडौं ।

तराई–मधेस क्षेत्रमा भएका पछिल्ला संवेदनशील घटनाक्रमप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चिन्ता व्यक्त गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

कोइरालाले नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै विविधतामा एकता नै देशको शक्ति रहेको बताएका छन्। उनले आवेग र उत्तेजनाले समाजलाई फाइदा नपुर्‍याउने भन्दै वर्तमान अवस्थामा संयम, विवेक र आपसी संवाद आवश्यक रहेको बताए।

उनले राजनीतिक नेतृत्व, धार्मिक गुरु तथा नागरिक समाजलाई शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका खेल्न आग्रह गरेका छन्। साथै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट घृणा फैलाउने सामग्रीलाई निरुत्साहित गर्दै सकारात्मक सन्देश प्रवाह गर्न सबैलाई अपिल गरेका छन्।

कोइरालाले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घाइतेहरूको उपचारमा राज्यले कुनै कमी नराख्नुपर्ने बताएका छन्।