विराटनगर ।
सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा मोरङ, सप्तरी, सिरहा, पर्सा र धनुषामा पनि प्रदर्शन गरिएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि सिरहा, जनकपुरमा कफ्र्यू आदेश जारी गरिएको छ भने पर्साको वीरगन्जमा निषेधाज्ञा लगाइएको छ ।
सिरहाको गोलबजारमा बिहीवार तनाव भएको छ । गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो । त्यहाँ अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा समेत बिहीवार प्रदर्शनपछि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।
सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौक, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पसवरिपरिको क्षेत्रमा कफ्र्यू जारी गरिएको जनाइएको छ । यस्तै प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कफ्र्यू आदेश जारी गरेको छ ।
प्रशासनले बिहीवार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरेको हो ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको बताउनुभएको छ । जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यु लगाइएको हो । बिहानैदेखि जनकपुरधामका विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरिएको थियो ।
भिडलाई नियन्त्रण गर्न तथा उपद्रो गर्न नदिन हालसम्म १५ भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकै क्रममा एक बालक घाइते भएका छन् । कोसी प्रदेशको राजधानी विराटनगरमा पनि प्रदर्शन भएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयअगाडि पुगेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले ‘ब्यारिकेड’ लगाएर रोकेका छन् । सुनसरीका १० पालिकामा लगाइएको निषेधाज्ञा जारी नै छ । पूर्वपश्चिम राजमार्गमा यातायात आंशिक रूपमा चलाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले पर्साका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीवार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गर्नुभएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीवार साँझ ५ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उहाँले जानकारी दिनुभएको छ । पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी मानिसहरू भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।
सुनसरीमा सुरक्षाकर्मीको बाक्लो तैनाथबीच नेपाली सेनाको हवाई तथा स्थलगस्ती निरन्तर छ । भित्री गाउँहरूमा पनि ड्रोनबाट निगरानी भइरहेको छ । घटनास्थल कप्तानगञ्ज भने बुधवारदेखि केही शान्त देखिएको बताउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं डीएसपी चन्द्रबहादुर खड्काले भन्नुभयो– ‘विगत दिनहरूभन्दा बुधवार र बिहीवार कप्तानगञ्ज शान्त छ । सुरक्षा निगरानी र गस्तीलाई निरन्तरता दिइएको छ ।’
मृतकका परिवारलाई जनही दश लाख राहत
सुनसरी घटनामा मृत्यु भएकाका परिवारलाई देवानगञ्ज गाउँपालिकाले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतवार राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताको अध्यक्षतामा बिहीवार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागी निधन भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै राहत दिने निर्णय गरेको हो ।
कप्तानगञ्ज, नयाँ हाट बजारमा भएको घटनाको क्रममा निधन भएका व्यक्तिहरूलाई देवानगञ्ज गाउँपालिकाको तर्फबाट सहिद घोषणा गर्दै सोको स्वीकृतिका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णयसमेत भएको छ । गोली लागि पूर्ण अशक्त र अति अशक्त अपांगता पाएको प्रति व्यक्तिलाई दुई लाख तथा मध्यम र सामान्य अपांगता भएको प्रतिव्यक्तिलाई ५० हजार राहत स्वरूप गाउँपालिकाको चालुतर्फको उद्धार राहत तथा पुनःस्थापना खर्च शीर्षकबाट रकम उपलब्ध गराउने सर्वसम्मत निर्णय भएको छ ।
मृतकको सङ्ख्या ३ पुग्यो
सुनसरीको देवानगञ्जमा गोली लागेर घाइते भई उपचाररत रहेका थप एक जनाको निधन भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत २१ वर्षीय जयप्रकाश मेहताको निधन भएको अस्पतालले पुष्टि गरेको छ । देवानगञ्ज–३ का नरेश मेहताका एक्ला छोरा जयप्रकाश मेहता ८ महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतवार राति भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा यसअघि गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको थियो ।
मेहताको शव चार दिन बित्दासमेत अस्पतालमै छ । पीडित परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् भने सरकारले माग पूरा गर्ने निर्णय नगर्दा मेहताको शवको पोस्टमार्टमसमेत हुन सकेको छैन । आइतवार रातीको गोलीकाण्डमा घाइते भएका अन्य ७ जनाको विराटनगरस्थित न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा सघन उपचार भइरहेको छ । तीमध्ये न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचाररत जयप्रकाश मेहताको निधन भएको छ भने नोबेल अस्पतालमा उपचाररत १८ वर्षीय अमित यादवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरूको पेट र कोखामा गोली लागेको थियो । अन्य सात जनाको अवस्था भने शल्यक्रियापश्चात् सुधारोन्मुख रहेको अस्पतालहरूको भनाइ छ ।
मधेसवादी दलको ८ बुँदे माग
सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न मधेस केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूले सरकारसमक्ष आठ बुँदे माग राखेका छन् ।
जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीवार संयुक्त प्रेस वक्तव्य जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
वक्तव्यमा प्रहरीको बल प्रयोगबारे निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्न, प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्न तथा मृतकलाई सहिद घोषणा गरी क्षतिपूर्ति, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ । त्यसैगरी, घटनामा बाह्य तत्व वा अन्य संगठित समूहको संलग्नता भए–नभएको स्वतन्त्र अनुसन्धानबाट स्पष्ट पार्न, गृहमन्त्री सुदन गुरुङले नैतिक जिम्मेवारी लिन तथा आरोपित प्रहरी र प्रशासनिक अधिकारीलाई अनुसन्धान अवधिसम्म निलम्बन गर्न माग गरिएको छ ।
नेताहरूले घाइतेहरूको निःशुल्क उपचार, राहत, सामाजिक तथा धार्मिक नेतृत्वसँग समन्वय गरी सद्भाव कायम गर्न तथा सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् । साथै, नागरिकलाई अफवाहबाट टाढा रही शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको छ ।











प्रतिक्रिया