नेयमार अब पहेँलो जर्सीमा हुने छैनन्


लन्डन, (एजेन्सी) ।

ब्राजिली फुटबलमा प्रिन्स उपनाम पाएका नेयमार जुनियरले अन्तर्राष्ट्रिय करिअर समाप्त भएको घोषणा गरेका छन् । ३४ वर्षीय नेयमारले एक खेलको दौरान पहेँलो जर्सी लगाउने समय सकिएको बताएका हुन् ।

हाल ब्राजिली फुटबल लिगमा खेलिरहेका नेयमारले क्लबस्तरीय खेल भने जारी रहने बताए । उनी ब्राजिली क्लब सान्टोसका लागि खेलिरहेका छन् । उनले यसै क्लबबाट व्यावसायिक फुटबलमा पाइला चालेका थिए ।

योसँगैं नेयमारले अर्को विश्वकप २०३० मा नखेल्ने पनि संकेत गरेका छन् । भर्खरै सम्पन्न विश्वकप २०२६ मा ब्राजिल अन्तिम १६ बाट बाहिरिएको थियो । उनले नर्वेसँगको खेलमा पेनाल्टीमा एक गोल पनि गरेका थिए । तर, यो खेल उनी र उनको राष्ट्रिय टोली सेलेकाओ (ब्राजिली फुटबलको उपनाम) ले २–१ ले गुमाएपछि विश्वकप यात्रा सकिएको थियो ।

उत्तर अमेरिकामा आयोजित विश्वकपमा नेयमार चोटको कारण अधिक समय बेन्चमै बस्नु परेको थियो । उनले समूह चरणको एक खेल हाइटीविरुद्ध र अन्तिम १६ मा नर्वेविरुद्ध खेलेका थिए । नर्वेविरुद्ध उनी २–० ले पछि परेको अवस्थामा मैदानमा उत्रेका थिए । तर, उनले टोलीलाई हारबाट जोगाउन सकेनन् ।

उनले संन्यासको घोषणा गर्नेक्रममा बताए–राष्ट्रिय टोलीसँग मेरो समय अब समाप्त भयो । मैले पहेँलो जर्सीका लागि आफ्नो रगत पसीना बगाए, इतिहास रचे र सँधैं देशका लागि लडिरहेँ । अब म धेरै खेल्न चाहन्न ।

नेयमार ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय करिअरमा ब्राजिललाई विश्वकप उपाधि दिलाउन नसकेकोमा पछुतो भने रहेको बताए । उनले विश्वकप जित्ने सपना पूरा हुन नसकेपनि आफ्नो अन्तर्राष्ट्रिय करिअरमा खुशी रहेको पनि बताए । उनले बताए–मैले ब्राजिलका लागि जे गरे त्यसमा गर्व छ ।

केही तथ्यहरू
–सिनियर अन्तर्राष्ट्रिय करिअर १८ वर्षमा सुरु गरेको ।
–पहिलो अन्तर्राष्ट्रिय खेल २०१० मा अमेरिकाविरुद्ध खेलेको ।
–अन्तिम अन्तर्राष्ट्रिय खेल २०२६ मा नर्वेविरुद्ध खेलेको ।
–पहिलो र अन्तिम खेल एउटै मैदान न्युजर्सीस्थित मेटलाइफ रंगशालामा खेलेको ।
–८० गोलसँगैं ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेको ।
–२ प्रमुख उपाधि कन्फेडेरेसन्स कप २०१३ र २०१६ मा ओलम्पिक गोल्ड मेडल जितेको ।
–ब्राजिलका लागि ४ विश्वकप (२०१४, २०१८, २०२२ र २०२४) खेलेको ।