–रेक्टर र रजिस्टार नियुक्त हुन नसक्दा कार्यकारी परिषद्ले पूर्णता पाएन
–चालु आवको बजेट अझै ल्याउन नसकिएको भन्दै प्रशासनिक काम प्रभावित
–यही महिनाभित्र सबै पदाधिकारी नियुक्त भई बजेटसहित योजना सार्वजनिक हुने दाबी
काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा भोला थापाले उपकुलपतिको पदभार ग्रहण गर्नुभएको आज २६ दिन पुगेको छ । २६ दिनको अवधिमा त्रिविले न पदाधिकारी पायो । न त बजेट नै । शिक्षा तथा खेलकुद मन्त्रालयको हस्तक्षेपको कारण रेक्टर र रजिस्टार नियुक्ति हुन सकेको छैन । दुई पदाधिकारी नियुक्ति हुन नसक्दा कार्यकारी परिषद्ले पूर्णता पाउन सकेको छैन ।
अध्यादेशबाट कार्यकारी परिषद् र सिनेट खारेज भएको कारण महत्वपूर्ण दुई निकायमा पदाधिकारी नियुक्ति नहँुदा सबै काम ठप्प छ । कार्यकारी परिषद्मा उपकुलपति, रेक्टर, रजिस्टार, संकाय र संस्थानको तर्फबाट एक–एक जना डीन र २ जना शिक्षक सदस्य रहनेछन् । ७ सदस्य कार्यकारीमा अहिले उपकुलपति मात्र छ । अन्य पद रिक्त छ ।
विश्व विद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पदाधिकारी नियुक्ति गर्न उपकुलपतिलाई स्वतन्त्रता दिएको बताउनुभयो । स्रोतका अनुसार मन्त्रालयले नाम नतोकेको कारण नियुक्ति हुन नसकेको हो । उपकुलपति प्राडा थापाले सम्भवतः यो महिनाभित्र सबै पदाधिकारी नियुक्ति भइसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रकृया सुरु भइसकेको छ । केही दिनमा तीनै जना पदाधिकारीले काम गर्नेछन् ।’
तीन पदाधिकारी नहुँदा चालु आर्थिक वर्षको बजेट आउन सकेको छैन । जेठमा आइसक्नुपर्ने बजेट साउन लागिसक्दा पनि ल्याएको छैन । उपकुलपति थापा दुई पदाधिकारी नियुक्ति भएपछि मात्र बजेट ल्याउने तयारीमा हुनुहन्छ ।
त्रिविमा सुधारका दर्जनौँ काम गर्न बाँकी छ, पदाधिकारी नहँुदा गम्भीर समस्या परेको छ । सरकारले १९ असारमा प्राडा थापालाई उपकुलपति नियुक्ति गरेको थियो । त्यस बेलादेखि काम गर्ने हुटहुटी जागेको उपकुलपतिले त्रिवि बुझ्दाबुझ्दै करिब एक महिना सक्न लाग्नुभएको छ । ‘न कार्यकारी परिषद्ले पूर्णता पाउन सकेको छ, न त बजेट आउन नै सकेको छ’ –त्रिवि कर्मचारीको आरोप थियो । उपकुलपति थापाले बजेटसँगै विभिन्न योजना पनि सार्वजनिक हुने बताउनुभयो ।
‘उपकुलपति नियुक्ति गरेर दुई पदाधिकरी नियुक्ति नगर्दा मन्त्रीको आलोचना भएको छ । बोल्दाखेरि उपकुलपतिलाई पदाधिकारी नियुक्ति गर्न भनेको थियो । तर नियुक्ति गर्न अधिकारनै नदिएपछि कसरी हुन्छ’ –त्रिविका अधिकारीले नेपाल समाचारपत्रसँग भने ।
सबै सरकारी हस्तक्षेपको कारण तत्काल दुई पदाधिकारी नियुक्ति गर्ने सम्भावना क्षीण भएको छ । यसअघि उपकुलपतिको बागडोर सम्हाल्नुभएका प्राडा थापाले शिक्षाध्यक्ष र रजिस्टार नियुक्ति प्रकृया अघि बढाउने बताउनुभएको थियो ।
हाल निमित्त शिक्षाध्यक्षको जिम्मा विज्ञान संकायका डीन शंकरप्रसाद खनाल र रजिस्टारको जिम्मा व्यवस्थापनका डीन महानन्द चालिसेले लिनुभएको छ । स्रोतका अनुसार उपकुलपति थापाले आफ्नो अनुकूलको टिम नआइकन बजेट बनाउने सम्भावना कम छ । आट गरेदेखि एक्लैले बजेट ल्याउन सक्नुहुन्छ, तर किन चुनौती लिने भन्ने सोचेर बजेट ल्याउने आट गर्नुभएको छैन । अन्य निमित्त पदाधिकारीसँग मिलेर नैतिकताको आधारमा बजेट ल्याउन सम्भावना छैन ।











प्रतिक्रिया