धनगढी।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट स्पष्ट बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ।
साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भट्टले प्रदेश सभाको कार्यतालिका अनुसार बुधवार प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेका हुन्। कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बुधवारको बैठकमा ४६ जना सांसद उपस्थित थिए।
बैठकमा भएको मतदानमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ मत र विपक्षमा १५ मत खसेको छ।
बुधवारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि छलफलका क्रममा विभिन्न दलका नेताहरूले धारणा राख्नुभएको थियो। नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामी, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, नेकपाका केन्द्रीय सदस्य तथा कैलाली सहइन्चार्ज रमेश सिंह धामी, र राप्रपाकी खिमादेवी विष्टले आ-आफ्नो दलका तर्फबाट मन्तव्य व्यक्त गर्दै नयाँ सरकारको जिम्मेवारी र जनअपेक्षाबारे सभाको ध्यानाकर्षण गराउनुभयो।
विश्वासको मतसँगै प्रदेश सरकार विस्तारको बाटो खुलेको छ। यसअघि एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले कार्यभार सम्हालिसकेका छन्। सत्तारूढ गठबन्धनको पूर्वसहमति अनुसार अब निकट भविष्यमै नेकपाको भागमा परेका बाँकी तीन मन्त्रीको नियुक्ति गरी मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ।
यसका साथै, हाल शून्यको अवस्थामा रहेको प्रदेशको बजेट निर्माण प्रक्रियाले पनि तीव्रता पाउने भएको छ। सरकारले आगामी एक महिनाभित्रै नयाँ बजेटको मस्यौदा तयार गरी प्रदेश सभाबाट पारित गराउने लक्ष्य लिएको छ।











प्रतिक्रिया