३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ


काठमाडौँ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ २ गते भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटना लगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट कुकुरसहितको अनुसन्धान टोलीसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बालिका २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। अनुसन्धानका क्रममा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने अन्दाजी १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र त्यहाँ जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेका १६ वर्षीय बालक र उक्त म्याजिकका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।