पाकिस्तानको ट्याक्सिलामा २८ वर्षीया टिकटक स्टार शम्सु बीबीको गोली हानी हत्या गरिएको छ। स्थानीय प्रहरीमा दर्ता भएको उजुरीका अनुसार अगस्ट १४ मा अज्ञात व्यक्तिले गोली चलाउँदा उनको मृत्यु भएको हो।
प्रहरी उजुरीमा बीबीका पिता फजल साहिबजादाले दिएको विवरणअनुसार घटनाअघि बीबीलाई काशिफ उर्फ ‘काशी’ नाम गरेका व्यक्तिले फोन गरी तत्काल घरबाहिर आउन भनेका थिए। त्यसपछि बीबी आफ्नी १५ वर्षीया बहिनी असीमा र भाइ नैमतुल्लाहसँग कारमा घरबाट बाहिरिएकी थिइन्।
केही समयपछि बीबीलाई गोली लागेको खबर उनका परिवारले पाएका थिए। उनका पिता ट्याक्सिला अस्पताल पुगेपछि शव पहिचान गरेका थिए। भाइ नैमतुल्लाहले दिएको जानकारीअनुसार पेट्रोल पम्पनजिक मोटरसाइकलमा आएका ३० देखि ३५ वर्ष उमेरका दुई अज्ञात व्यक्तिले कारमाथि गोली चलाएका थिए।
गोली बीबीको घाँटीमा लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ। गोली चलेपछि कार नियन्त्रणबाहिर गएर अर्को सवारीसाधनसँग ठोक्किँदा उनकी बहिनी असीमा गम्भीर घाइते भएकी छन्।
बीबी करिब तीनदेखि चार वर्षदेखि टिकटकमा सक्रिय रहेको उनका पिता फजलले प्रहरी उजुरीमा उल्लेख गरेका छन्। उनका अनुसार बीबीका करिब १३ लाख फलोअर्स थिए। उनका भाइ रहमतुल्लाहले भने खातामा ३ देखि ३.५ करोडभन्दा बढी लाइक रहेको दाबी गरेका छन्। हत्या भएपछि परिवारले उनको टिकटक खाता निष्क्रिय गरेको बताइएको छ।
परिवारले बीबीको हत्यामा काउसर र जावेद उर्फ शाहीनको संलग्नता हुन सक्ने आशंका गरेको छ। उनका भाइका अनुसार बीबीको उनीहरूसँग आर्थिक कारोबार थियो र रकम फिर्ता गर्ने विषयलाई लिएर उनलाई धम्कीसमेत आएको थियो। यस विषयमा उनले इस्लामाबादमा उजुरीसमेत दिएको परिवारको दाबी छ।
बीबीका पिता फजलले काउसर र जावेदले आफैं वा अन्य व्यक्तिमार्फत छोरीको हत्या गराएको हुन सक्ने आशंका गर्दै प्रहरीसमक्ष कानुनी कारबाहीको माग गरेका छन्। उनले काशिफ उर्फ काशीको भूमिकामाथि पनि अनुसन्धान गर्न आग्रह गरेका छन्।
प्रहरीले परिवारले नाम उल्लेख गरेका व्यक्तिहरू तथा दुई अज्ञात व्यक्तिविरुद्ध पाकिस्तान दण्ड संहिताका हत्या, हत्या प्रयास, उक्साहट तथा सामूहिक उद्देश्यसम्बन्धी धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया