रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता


काठमाडौं ।

एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न आवश्यक पर्ने परामर्श तथा निष्कासन र बिक्री व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउनेछ।

कास्कीको रुपा–६, मैदानमा कारोवार कार्यालय रहेको रुपाकोट रिसोर्ट पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै आएको छ। रिसोर्टबाट हिमाली शृंखलासहित रुपा र बेगनास तालको दृश्यावलोकन गर्न सकिन्छ।

रिसोर्टले प्राकृतिक सौन्दर्य र आधुनिक आतिथ्य सुविधालाई संयोजन गर्दै आवास, भोजन तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम र विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउँदै आएको जनाएको छ। पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्टलाई उपयुक्त गन्तव्यका रूपमा विकास गरिएको छ।

एनआईसी एशिया क्यापिटलले कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीलाई प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा रूपान्तरण गरी साधारण शेयर निष्कासनसम्मको प्रक्रिया अघि बढाउन आवश्यक परामर्शसमेत क्यापिटलले प्रदान गर्दै आएको छ।

क्यापिटलका अनुसार उक्त सेवा लिन इच्छुक कम्पनीहरूले प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सक्नेछन्।

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनसम्बन्धी प्रक्रिया भने प्रचलित कानून तथा नियामकीय व्यवस्था पूरा गरेपछि अघि बढ्नेछ।