काठमाडौं।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कम्पनीले आगामी असोज ३ गते काठमाडौंको सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको सहभागिता रहनेछ।
बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ। मनोरञ्जनसँगै कर्मचारीबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसमेत प्रतियोगिताको रहेको छ।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
नेपाल इन्स्योरेन्सका अनुसार प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको थियो। पहिलो संस्करणबाट प्राप्त उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत बीमा क्षेत्रका विभिन्न संस्थाहरूको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा कम्पनीले गरेको छ।
नेपालको बीमा क्षेत्रमा लामो इतिहास बोकेको नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो।











प्रतिक्रिया