भोलिदेखि डिलरमार्फत नै एलपी ग्यास बिक्री हुने, निगमले गर्‍यो यस्तो व्यवस्था


काठमाडौं ।

भोलि भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सम्बन्धित डिलर तथा बिक्रेतामार्फत नै नियमित रूपमा हुने भएको छ।

नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको जनाएको हो। निगमले ग्यास सिलिण्डर आवश्यक पर्ने उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक ग्यास बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।

ग्यासको बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले विभिन्न पाँचबुँदे व्यवस्था गरेको छ। जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिण्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरसमेत समेटिएको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगहरूले उक्त विवरण सोही दिन नेपाल आयल निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

निगमका अनुसार ग्यास वितरण गर्दा अत्यावश्यक अवस्थामा रहेका तथा घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई प्राथमिकतामा राख्नुपर्नेछ। ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षाको दृष्टिले आवश्यक सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।

यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका कर्मचारीसमेत सहभागी संयुक्त टोलीमार्फत ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

नजिकको बिक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले नेपाल आयल निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्। त्यसका लागि निगमले ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर सार्वजनिक गरेको छ।