काठमाडौँ।
कप्तानगञ्ज घटनापछि सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्र तथा इनरूवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
स्थिति थप जटिल बन्दै गएपछि प्रशासनले मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार आदेश जारी गरिएको उल्लेख छ।
प्रशासनका अनुसार कर्फ्युको दायरा पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म रहेको पूर्व–पश्चिम राजमार्गको उत्तर र दक्षिणतर्फ २००–२०० मिटर क्षेत्र तथा सम्पूर्ण इनरूवा बजारमा लागू हुनेछ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले नागरिकलाई आदेशको पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।











प्रतिक्रिया