विकासको मूल्य : कालीगण्डकीका माझी–बोटेको परम्परागत पेसा संकटमा

94
Shares

स्याङ्जा । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण भएपछि पुस्तौंदेखि माछा मारेर र डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका माझी तथा बोटे समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ । नदीमा माछाको संख्या घट्दै जानु र जलयात्रामा यात्रु अभाव हुन थालेपछि उनीहरुको जीवनयापन नै कठिन बन्दै गएको छ । कालीगण्डकी नदी माछाका लागि प्रख्यात नदीका रुपमा परिचित थियो । मिर्मी आसपासको कालीगण्डकी र आँधीखोलाको सङ्गम क्षेत्रमा स्थानीय माझी तथा बोटे समुदायले परम्परागतरुपमा माछा मार्दै आएका थिए । उनीहरुका अनुसार बाँध निर्माण हुनुअघि नदीमा माछा प्रशस्त पाइन्थ्यो ।

साँझ जाल थापेर बिहान निकाल्दा जालभरि माछा पर्ने अवस्था थियो । तर, अहिले १ सय ४४ फिट उचाइको बाँध निर्माण भई जलाशय बनेपछि नदीको प्राकृतिक बहावमा परिवर्तन आएको छ । तल्लो भागका माछा माथिल्लो क्षेत्रमा आउन नसक्दा माछाको संख्या ह्वात्तै घटेको र त्यसको प्रत्यक्ष असर स्थानीय समुदायको जीविकोपार्जनमा परेको छ ।

मिर्मीका स्थानीय दिलबहादुर बोटेले विगत सम्झँदै भन्नुभयो, ‘पहिला माछाले घर चल्थ्यो, अहिले जाल थाप्दा पनि खाली हात फर्किनुपर्दछ । यही बाध्यताले माछा मार्ने पेसा छाडेर कालीगण्डकी जलयात्राको स्टिमर चालक बन्न बाध्य भएँ, त्यो पनि अहिले राम्रो चलेको छैन, अब के पो गर्नु ।’ उहाँका अनुसार मिर्मीदेखि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल हुँदै विश्वकै सबैभन्दा ठूलो शिला मानिने सेतीबिनीसम्म सञ्चालन हुने जलयात्रा पहिले निकै लोकप्रिय थियो । धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षणका कारण दैनिक सयौँ यात्रु स्टिमर चढ्ने गर्थे । तर पछिल्ला वर्षहरुमा कालीगण्डकी करिडोर र आसपासका सडक विस्तार भएपछि तीर्थयात्री तथा पर्यटकहरु जलमार्गको सट्टा सीधै सडकमार्गबाट गन्तव्यमा पुग्न थालेका छन् । यसले जलयात्रा व्यवसायमा समेत गम्भीर असर पारेको छ ।

वि.सं. २०६२ देखि स्टिमर चालकका रुपमा काम गर्दै आएका दिलबहादुर बोटे अहिले भविष्यप्रति चिन्तित देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिला जलयात्राको छुट्टै आकर्षण थियो । अहिले सडक पुगेपछि यात्रु नै पाउन मुस्किल छ । नदीमा माछा छैन, स्टिमरमा यात्रु पनि छैनन् । विदेश जान नपरे हुन्थ्यो भन्ने थियो, तर अब अरु कुनै पेसा व्यवसाय नभएपछि बाहिर जानुपर्ने बाध्यता आइलागेको छ ।’ उहाँका अनुसार समुदायका अधिकांश परिवारसँग खेतीयोग्य जमिन छैन । नदी र माछा नै उनीहरुको जीविकोपार्जनको मुख्य आधार थियो । परम्परागत पेसा धरापमा परेपछि अहिले धेरै परिवारको भविष्य अन्योलमा परेको छ ।

अर्का स्टिमर चालक मोहन बोटेको अवस्था पनि उस्तै छ । एउटै स्टिमरमा दुईजना चालक खटिने भए पनि यात्रु अभावका कारण नियमित काम पाउन कठिन भएको उहाँ बताउनुहुन्छ । आम्दानी घट्दै जाँदा परिवार धान्न नै समस्या हुन थालेको उहाँको गुनासो छ । जलविद्युत् आयोजनाको मिर्मी बाँधबाट प्रभावित माझी तथा बोटे समुदायलाई विकल्पका रुपमा अन्यत्र बसोबासको व्यवस्था मिलाइएको भए पनि अहिलेसम्म जग्गाधनी पुर्जा प्राप्त गर्न नसकेको उनीहरुको भनाइ छ । यसले उनीहरुको स्थायी बसोबास र भविष्यप्रति पनि थप अन्योल सिर्जना गरेको छ ।

कालीगण्डकी गाउँपालिका कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय प्रेमबहादुर बोटेका अनुसार माछाको संख्या वृद्धि गर्न मत्स्य अनुसन्धान केन्द्र मिर्मीले प्रत्येक वर्ष तीन लाखभन्दा बढी माछाका भुरा जलाशयमा छोड्दै आएको छ । तर, वर्षायाममा आउने बाढीले ती भुरा बगाएर लैजाने गरेकाले अपेक्षित परिणाम हासिल हुन सकेको छैन । उहाँका अनुसार कालीगण्डकी गाउँपालिका–७ मा मात्र माझी र बोटे समुदायका ३८ घरपरिवार माछा मार्ने पेसामा आबद्ध छन् । पेसा सङ्कटमा पर्दा उनीहरुको आयआर्जन घटेको छ भने युवा पुस्ता रोजगारीका लागि विदेशिन थालेका छन् । परम्परागत ज्ञान र सीपसमेत हराउने जोखिम बढेको स्थानीयको चिन्ता छ ।

यसै बीच, गाउँपालिकाले माझी तथा बोटे समुदायलाई वैकल्पिक रोजगारी सिर्जना गर्न विभिन्न योजना अघि बढाएको जनाएको छ । पालिकाले सो क्षेत्रमा प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिरहेको र त्यसबाट स्थानीय समुदायलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी जलयात्रा व्यवस्थापन समितिका अनुसार हाल ९० देखि १ सय ५० जना यात्रु क्षमता भएका चारवटा स्टिमर सञ्चालनमा छन् । तर यात्रु संख्या घट्दै जाँदा व्यवसाय टिकाइराख्न कठिन भइरहेको समितिको भनाइ छ ।

यता माझी तथा बोटे समुदायका अगुवाहरुले जलाशय क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीका लागि डुङ्गा सयर सञ्चालन गर्न अनुमति दिन सरकारसँग माग गरेका छन् । यसो गर्न सके परम्परागत सीप र अनुभवलाई पर्यटनसँग जोडेर आफ्नै गाउँघरमा बसेर जीविकोपार्जन गर्न सकिने उनीहरुको विश्वास छ । स्थानीयवासीहरुका अनुसार कालीगण्डकी नदी उनीहरुको लागि केवल जलस्रोत मात्र नभई संस्कृति, पहिचान र जीवनको आधार हो । तर विकासका नाममा नदीको स्वरुप परिवर्तन भएसँगै नदीसँग जोडिएको पुस्तौंदेखिको जीवनशैली पनि सङ्कटमा परेको छ ।

त्यसैले उनीहरु जलाशय क्षेत्रलाई पर्यटन, मत्स्यपालन र डुङ्गा सयरसँग जोडेर नयाँ अवसर सिर्जना गर्न सरकार र सम्बन्धित निकायले दीर्घकालीन योजना ल्याउनुपर्नेमा जोड दिन्छन् । विकास र प्राकृतिक स्रोतको उपयोगसँगै स्थानीय समुदायको परम्परागत जीविकोपार्जनको संरक्षण गर्न नसकिए कालीगण्डकी किनारमा बसोबास गर्ने माझी तथा बोटे समुदायका लागि भविष्य अझ चुनौतीपूर्ण बन्ने देखिएको छ ।