सत्ता हातमा लिएको करिब चार महिना बितेर जाँदै गर्दा बालेन्द्र साह नेतृत्वको सरकारले पहिलेका शासनको कुर्सीमा बसेका र ठुलै माछाका रुपमा गणना गरिएका भ्रष्टाचारीका नाइकेलाई समेत पक्राउ गरी कार्यवाहीको डण्डा निर्मम तरिकाले चलाएको छ । तर सरकारको यो कामले भ्रष्टाचारका नायकहरूका दिल र दिमागमा हलचल मच्चाएको मात्र नभई अब पक्राउ परिएला कि भन्ने डर दैनिक रुपमा बढेर गएको छ । यो डरलाई ढाकछोप गरेर कसैले नदेखून् र थाहा नपाऊन् भन्नाका लागि नक्कली कागजपत्र मिलाउन दौडधूप छ ।
विगतमा टाढिएका विभिन्न राजनीतिक दलसँग एकता गरेर, एकले अर्कालाई सघाएर विगतका आपराधिक कार्यको पोल खुल्न नदिनु एक कर्म भएको छ भने विगतमा आ–आफ्ना कार्यकर्ताले आ–आफ्ना नेतालाई जुन र जस्तो सम्मान दिएका र बफादारी कायम गरेकोमा अबका दिनमा पनि सोही सम्मान दिऊन् र नेतृत्वको प्रशंसा गर्दै आफ्नै महिमाको गुणगान गरुन् भन्ने आशय ती शीर्ष नेताको अभिव्यक्तिको मूल आशय रहेको पाइन्छ । कहिले उनीहरू धेरै पीडाले सताएको नाटक देखाएर आँसु नै बगाउँला कि जस्तो गरेर रुन्चे स्वरमा धेरै दिनको भोको भिखारीले भिक्षा मागेको स्वरमा आम नेपाली जनतासामु हामीले गरेका विगतका आपराधिक कर्मको लागि छुट देओ भनेर मगन्ते स्वरुपमा माग्छन् भने कहिले सिंह गर्जेको स्वरमा गर्जन गर्दै वर्तमानको बालेन नेतृत्वको सरकार एकै दिनमा ढाल्ने अभिव्यक्ति ओकलिरहेका हुन्छन् ।
यही साउन ८ गते माओवादीका सर्वोच्च नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गर्जन सुन्न निकै लायकको थियो । काठमाडौँमा मात्र १० लाख जनता उतारेर बालेन सरकारका विरुद्धमा घेरा हाल्ने अनि एकै दिनमा सत्ता उल्टाउने अरे ! काठमाडौँमा मात्र त्यति गर्न सकियो भने बालेन सरकार आफैँ नर्भस हुन्छ र सत्ता छोड्छ अरे ! नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद ओलीको गर्जन पनि कमरेड प्रचण्डको जत्तिको नभए पनि सुन्न लायक नै छ । उनी पुरानै उखाने तथा टुक्के शैलीमा पुराना सबै राजनीतिक दल एकता नगरे तापनि वर्तमानको यो कठिन अवस्थाबाट निकास पाउने मात्र होइन कि हामी सबैका सामूहिक बल र प्रयासमा वर्तमानको सत्तालाई जसरी भए पनि घुँडा टेकाएर हामीमध्ये कसैले पुनः सत्ता हासिल गर्न सकियो भने पहिलेकै शैलीले फेरि देश लुटौँला नि भन्ने आशयको अभिव्यक्ति पस्कँदै थिए ।
दोस्रो दिनको अभिव्यक्तिमा कमरेड प्रचण्डको आशय थियो कि चुनावको बेला रास्वपाले नेपाली जनतालाई अफिम खुवाई लट्ठ बनाएर, आफ्नो पक्षमा भोट हाल्न लगाएर चुनाव जितेको रहेछ, अब हामीले पनि नेपाली जनतालाई अफिम सेवन गराएर आफ्नो पक्षमा ल्याउनुपर्छ र एकै दिनमा सत्ता उल्टाउनुपर्छ । यसरी बालेन सरकारका सत्तरोहणका जति दिन बित्दै जान्छन्, त्यति नै मात्रामा यिनको चिन्ताको पारो बढ्नुका साथै व्यग्रतासमेत बढेर गएको जस्तो लाग्छ ।
वर्तमानको बालेन सरकारको भ्रष्टाचारी कार्यवाहीको कामले केही मात्रामा भए पनि हौसिएका र कार्यवाहीमा परेका ती भ्रष्टहरूलाई बल्ल भेट्यौ भनेर खुच्चिङको तिरस्कार फाल्दै गरेका बेलामा अनि बालेन नेतृत्वको सरकार लामो समय वा पूरै कार्यकाल टिकोस् र एकजना पनि भ्रष्टलाई नछोडोस् भन्ने मानसिक सोच बन्दै गरेका बेला कमरेड प्रचण्ड, कमरेड ओलीका त्यस्ता एकै दिनमा सत्ता पल्टाउने अभिव्यक्तिले कतै उनीहरूले बोलेजस्तै काम पनि हुन पुग्यो भने के गर्ने होला ? भन्ने मानसिक चिन्ताले केही मात्रामा भए पनि चिन्तित बनाएको हुँदो हो ।
तर ख्याल गर्नुपर्ने र वास्तविक कुरा के भने, आजको राजनीतिक परिवेशमा काठमाडौँमा १० लाख जनता उतार्ने भन्ने कमरेड प्रचण्डको अभिव्यक्ति केवल आवेग तथा हतास मानसिकताको अभिव्यक्ति हो । उनीहरूले काठमाडौँमा १० लाख होइन, केवल १० हजार टाउका पनि किनेर ल्याएर उतार्न कठिन छ । जेनजी विद्रोहअगाडि पो उनीहरूले पैसाको गोदाम बनाएर लुकाएका थिए र जाबो दुई–चार बिटा पैसा फालिदिँदा त्यसका लोभमा परेर किनिन्थे तर अब धेरैले त्यसो गर्न मान्ने अवस्था पनि छैन । अर्कोतिर उनीहरुका गोदामको पैसा डढेर नाश भएपछिका दिनको आर्थिक अवस्था कुन र कस्तो स्तरको हुँदै छ ? कार्यकर्ताले भन्नासाथ दुई–चार बिटा फालिदिने अवस्था कहाँनेर पुगेर विश्राम लिँदै छ कि गतिशील अवस्थामा छ भन्ने कुरामा पनि भर पर्छ ।
विगतका दिनमा पालैपालो शासनको कुर्सीमा बसेर उनीहरूले देश र जनताका पक्षमा के–कस्ता गहकिला काम गर्न सके भन्ने कुरा पनि जनताले गहिराइदेखि नै बुझिसकेको अवस्था छ । विगतको दशबर्से युद्ध र त्यसका घातक परिणामका बारेमा पनि जनताको भोगाइ तथा अनुभव खारिएर रहेको छ । यी सबै कारक तत्वलाई नियाली नेपाली जनताले यी पूर्व र भ्रष्ट शासकलाई इति चाँडै विश्वास गरेर साथ देलान् अनि उनीहरूले उर्दी जारी गर्दैमा वा आदेश थमाउँदैमा १० लाख जनता काठमाडौँको सडकमा गइदेलान् अनि वर्तमान सरकारका विरुद्धमा नाराबाजी गरेर ती पूर्वशासकहरूको जयगान गाऊलान् भन्ने कुरा २०८३ सालभरलाई चाहिँ १० मनको एकमनले पनि सोच्ने विषय होइन । लौ उनीहरूलाई १० लाख जनताले साथ दिएछन् नै भने पनि, अर्को मध्यावधि चुनाव भएछ नै भने पनि, नेपाली जनताले ती पिण्ड खाने बेला भएका ती पूर्व र भ्रष्ट शासकलाई भोट हाली जिताएर लौ हामीमाथि मनपर्दी शासन गर भन्ने दुस्साहस अवश्य गर्ने छैनन् ।
एकदिन त्यो समय आएछ भनेचाहिँ ती पुराना र भ्रष्ट शासकहरुले सोचेजस्तै उनीहरूकै मनोमानीको शासन चलाउने दिन आउनेछ भनेर ढुक्क परे हुन्छ । त्यो दिन भनेको जब वर्तमानको बालेन सरकार विगतको शासकभन्दा पनि अधिक भ्रष्टाचारको दलदलले हिलोमा फस्छ, वर्तमान सरकारले पनि विदेशबाट ऋण लिएर देश सञ्चालन गर्ने दुस्साहस गर्छ, निर्माण र विकासका काममा ढिलासुस्तीको तरिका विगतको सरकारको जस्तै हुन्छ, सरकारी ढुकुटीमा हुने आयस्ताको तुलनामा गयस्ता अधिक मात्रमा र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ, देश धनी हुँदै जानुपर्नेमा अझ गरिब बन्दै गएमा, युवालाई स्वदेशम उचितै रोजगारीका अवसर सिर्जना हुन नसकेर पहिलेकै जसरी विदेशिने क्रम अझ बढ्दै गएमा वर्तमान सरकार असफल भयो भनेर आम नेपाली जनताले भन्नुपर्ने दिन आउँछ ।
यदि त्यो दिन आयो भने अनि बल्ल पूर्व–भ्रष्ट शासकको मनोमानीको शासन सञ्चालनको सुनौलो अवसर सिर्जना हुनेछ । त्यसै दिनदेखि यिनले बालेन सरकारलाई लोप्पा खुवाउँदै र धारे हात लाउँदै पुनः भ्रष्टाचारका तानाबाना बुन्न र मन लाग्दी शासन सञ्चालनको आरम्भ गर्नेछन् । विगतमा उनीहरूले गरेका भ्रष्टाचारी कर्मका विरुद्धमा आवाज उठाउने हिम्मत कसैले पनि गर्न सक्ने छैन । यिनको सम्मान विगतको तुलनामा अधिक गरिनुपर्ने हुनेछ । त्यस बेला यिनले आफूलाई विश्वविजेता सम्राट सिकन्दरको लाइनमा उभिएको ठान्नेछन् । अर्को विद्रोह नहुँदाको अवस्थासम्म यिनको फूर्ति र शान हेर्न लायकको हुनेछ ।
पुराना र भ्रष्ट शासकका ती सपना किन पनि पूरा हुने छैनन् भने, आजका दिनमा आन्द्रो गाँसेका यिनले बालेन सरकार पूर्णरुपले असफल भएर शासन यिनका हातमा आउँदाका दिनसम्ममा फेरि कतिपटक यिनका बीचमा पानी बाराबारको शत्रुताको अवस्था पैदा हुन्छ । साँच्चै सत्ता यिनले पाउने भए भने पहिला शासक को बन्ने भन्नेमा लुछाचुँडी एवं शत्रुता पैदा हुनेछ । एकले अर्कालाई धारे हात लगाएर सराप्दै र आँसु झारौँलाको भावना देखाउँदै सराप्नमा व्यस्त हुनेछन् ।
अर्को तथ्य, पुराना राजनीतिक दलका शीर्ष नेतामध्ये कोहीसँग पनि देश र जनताका हितका लागि गरिने कामको कुनै ठोस खाका तयार छैन । मानसिक रुपमा पनि तयार भएका छैनन् । यिनको बर्बराहट भनेको विगतमा आफूहरूले जम्मा पारेको धनलाई कसरी जोगाउने अनि मर्ने बेलामा सत्तामा रहँदाको जस्तै मान, सम्मान, यशगान सुनेर मर्ने भन्ने हुटहुटी मात्र रहेको पाइन्छ ।
संसार हामीले चालै नपाउने गरी परिवर्तन भइरहेको छ । पृथ्वीको भित्री भागम पनि परिवर्तनकै खोजमा ज्वालामुखी विष्फोट भएर परिवर्तन हुन चाहन्छ । बाह्य रुपको परिवर्तन त हामी सबैले देखेको र भोगेको परिवर्तनको विषय हुँदै हो । यदि कुनै पनि कारणले गर्दा परिवर्तन हुन विलम्ब भयो भने झन् भयानक तरिकाले विष्फोट भएर परिवर्तनको बाटोमा जान्छ । पृथ्वीको गर्भमा जति धेरै मात्रमा म्याग्मा जम्मा हुन्छ सोही मात्राको ज्वालामुखी विष्फोट हुन्छ । सोही अनुसारको क्षेत्रलाई प्रभावित बनाउँछ ।
हाम्रो मुलुकमा पनि वि.सं. २००७ को प्रजातन्त्रको उदयकालदेखि बेलाबेलामा राजनीतिक परिवर्तन त भएकै थिए, तर तिनलाई व्यवस्थापन गर्न कुनै पनि राजनीतिकर्मी सफल भएनन् । वर्तमानको बालेन नेतृत्वको सरकार पनि नेपाली जनताको अपेक्षा अनुरुपको बाटोमा दृढताका साथ हिँड्न सकेन भने निश्चित रुपमा असफल नै भएर जानेछ । तर वर्तमान अवस्थामा नै बालेन नेतृत्वप्रतिको नेपाली जनताको आशावादिता टुटिनसकेको हुनाले तै कतै जेनजी आन्दोलनको बलमा आएको आमूल राजनीतिक परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सफल होला कि भन्ने व्यग्र प्रतीक्षा बोकेर नेपाली जनता आशा र भरोसाको सास फेर्दै छन् ।
यदि पुराना राजनीतिक दलका शीर्ष नेतृत्वलाई देश र जनताको माया थियो भने सरकारलाई कुशल व्यवस्थापनको काममा सघाएर सफल बनाउने काममा लाग्नुपथ्र्यो । तथापि, उनीहरू सरकार ढाल्ने असफल प्रयासमा लागेका छन् । हामी असफल भयौँ भने उसलाई किन सफल बन्न दिने वा सघाउने भन्ने साँघुरो मानसिक सोचले गर्दा काँचुली फेर्ला कि भन्ने बाटोमा जाँदै गरेको नेपाली राजनीति बीचैमा नतुहियोस् । यसका लागि शासनको बागडोर सम्हालेकाहरूले पनि सजग र सचेत हुनु अनिवार्य छ ।











प्रतिक्रिया