नेयमार सहितको ब्राजिल दक्षिण एसिया आउने


नयाँ दिल्ली, (एजेन्सी)

दक्षिण एसियाली महाद्वीपमा फुटबलप्रतिको अभूतपूर्व क्रेज र फ्यानहरूको अगाध मायालाई उच्च सम्मान गर्दै पाँच पटकको विश्व विजेता ब्राजिलियन राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक दक्षिण एसियाली भूमिमा उत्रिने अन्तिम तयारीमा जुटेको छ ।

ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) ले सन् २०२६ को आगामी अक्टोबर महिनामा हुने ‘फिफा सुपर इन्टरनेसनल विन्डो’ अन्तर्गत भारतको ऐतिहासिक सहर कोलकातामा एक भव्य अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने वार्तालाई अन्तिम चरणमा पु¥याएको छ । ईएसपीएन ब्राजिल तथा फिफाका अनुसार नेपाल, भारत, बंगलादेश लगायत समग्र दक्षिण एसियाली क्षेत्रका समर्थकहरूले विश्वकपका क्रममा पहेँलो र हरियो जर्सीप्रति देखाएको अद्भुत समर्पण, क्रेज र भावात्मक सम्बन्धको उच्च कदर गर्दै सीबीएफले यो ऐतिहासिक खेल आयोजना गर्न लागेको जनाएको छ ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा आउन लागेको साम्बा टोलीमा विश्व फुटबलका हस्तीहरू नेयमार, भिनिसियस जुनियर र राफिन्हा जस्ता दिग्गज स्टार खेलाडीहरू प्रत्यक्ष मैदानमा उत्रिने अपेक्षा गरिएको छ । ढाका, सिंगापुर र दोहाजस्ता सहरहरूबाट आएका आकर्षक प्रस्तावहरूलाई पन्छाउँदै सीबीएफले दक्षिण एसियाली फुटबलको केन्द्रविन्दु मानिने कोलकातालाई रोजेको छ । सन् १९७७ मा फुटबलका राजा पेलेले न्युयोर्क कसमसबाट मोहन बगानविरुद्ध इडेन गार्डेन्समा खेलेको ऐतिहासिक क्षणको करिब ५० वर्षपछि ब्राजिलियन टोलीको आगमनले दक्षिण एसियाली खेलकुदमा नयाँ तरंग पैदा गरेको छ । ब्राजिलले खेल्ने प्रतिद्वन्द्वी टोलीको अन्तिम टुंगो लाग्न बाँकी रहे तापनि सम्झौताका अन्तिम प्रक्रियाहरू पूरा हुनासाथ आधिकारिक घोषणा गरिनेछ ।

दक्षिण एसियाली प्रशंसकहरूको अद्वितीय मायाको कदर गर्दै सीबीएफले आफ्नो आधिकारिक वक्तव्यमा नेपालको नाम समेत विशेष रूपमा उल्लेख गरेपछि नेपाली फुटबलप्रेमीहरूमाझ खुसी र उत्साहको अभूतपूर्व लहर छाएको छ । विश्वकपको निराशाजनक यात्रापछि पुनरागमनको तयारीमा रहेको ब्राजिलियन टोलीलाई आफ्नै आँखा अगाडि हेर्न पाउने सम्भावनाले सीमापारि मात्र नभई नेपाली समर्थकहरूलाई पनि निकै उत्साहित बनाएको छ । भौगोलिक रूपमा नजिकै हुन गइरहेको यो ऐतिहासिक फुटबल उत्सवले दक्षिण एसियामा फुटबलको व्यावसायिक महत्व बढाउनुका साथै नेपाली प्रशंसकहरूलाई आफ्ना प्रिय स्टारहरूलाई नजिकबाट नियाल्ने दुर्लभ अवसर प्रदान गर्नेछ ।