
दोलखा।
दोलखाको बिगु गाउँपालिका वडा नम्बर १, लामाबगरका महिलाहरुले फुर्सदको समयमा लम्पट बुनेर अतिरिक्त आम्दानी गर्न थालेका छन् । उनीहरुलाई लम्पट बुन्न आवश्यक पर्ने मेसिन औजार बिगु गाउँपालिकाले उपलब्ध गराएको पालिका उपप्रमुख देविका थामीले बताइन् ।
जगतकी आनन्दकुमारी श्रेष्ठ फुर्सदको समयमा ऊनबाट तयार गरिने लम्पट (गलैँचा) बुनेर महिनामा १०–१५ हजारसम्म कमाइ हुने बताउँछिन् । गाउँपालिकाको सहयोगमा वडा नम्बर १ को लामाबगर र जगतका ६ जना महिला फुर्सदको समयमा लम्पट बुन्ने काममा लागेको आनन्दकुमारीले बताइन् । ‘पालिकाले दुईपटक गरी १४ लाख रुपियाँ सहयोग गरेको छ’, आनन्दकुमारीले भनिन्, ‘त्यही रकमबाट महिलाको समूह बनाएर ६ वटा मेसिन औजार र आवश्यक सामग्री खरिद तथा लम्पट बुन्ने तालिम लिएका हौँ ।’
साइज हेरेर एउटा लम्पट बुन्न एक हप्तासम्म लाग्ने र ती लम्पटहरु ८ देखि १५ हजारसम्ममा बिक्री गर्ने अर्की स्थानीय साम्लागी शेर्पाले बताइन् । एउटा लम्पट बिक्री गर्दा पाउने रकममा झन्डै आधा नै फाइदा हुने उनले बताइन् ।
विशेष गरी शेर्पा समुदायका मानिसले बढी प्रयोग गर्ने लम्पट बिक्रीको लागि बजारको समस्या नहुने आनन्दकुमारीको भनाइ छ । लम्पट बुनिसक्दा नसक्दै घरमै खरिदको लागि मानिस आउने गरेको उनले बताइन् । ‘यो गाउँघरमै बिक्री हुने गरेको छ’, आनन्दकुमारीले भनिन्, ‘मानिसले खोजेअनुसार पु¥याउनै सकिएको छैन ।’
लामाबगरमा घरघरै लम्पट बुन्ने गरिएको भए पनि जगतमा भने तीन जनाले मात्र यो काम गरेको साम्लागी बताउँछिन् । ‘तालिम लिने त धेरै थियौँ तर काम गर्ने भने हामी तीनजना मात्र भयौँ’, साम्लागीले भनिन् । लामाबगरमा पालिकाले सहयोग गरेको तीनजना र अन्य महिलाहरु आफैँले मेसिन किनेर पनि घरघरै लम्पट बुन्ने गरेको स्थानीय बताउँछन् ।
तालिम लिएका सबै महिलाले फुर्सदको समयमा लम्पट बुनी सदरमुकाम चरिकोट, काठमाडौँ तथा चीनको तिब्बतसम्म पु¥याउन सकिए मनग्य आम्दानी गर्न सकिने स्थानीयको भनाइ छ । बिगु गाउँपालिकाले लम्पट उत्पादनलाई प्राथमिकतामा राखेर वडा नम्बर १ का महिलाहरुलाई तालिमसहित आवश्यक सहयोग गरेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने पालिका उपप्रमुख थामी बताउँछिन् ।











प्रतिक्रिया