आजकाल प्रायः मानिसले ‘मलाई यो गर्न समय छैन, ऊ गर्न समय छैन, मेरो जीवन व्यस्त छ, व्यायाम गर्न समय छैन’ भन्ने गुनासो गरेको सुनिन्छ । कार्यालयको काम, अध्ययन, मोबाइल र कम्प्युटरको धेरै प्रयोग, यातायातको समस्या, कामको तनावका कारण प्रायः मानिस शारीरिक रूपमा सक्रिय छैनन् । तर विज्ञहरू भन्छन्, ‘स्वस्थ रहनका लागि शरीर चलाउनै पर्छ । यसको लागि महँगा उपकरण आवश्यक छैन । दिनमा केवल पाँच मिनेटको नियमित व्यायामले पनि शरीर र मन दुवैलाई ठूलो फाइदा पु¥याउँछ ।’ वास्तवमा मानसिक स्वास्थ्यको लागि त शारीरिक व्यायाम अत्यन्त महत्वपूर्ण मानिन्छ । अस्वस्थ शरीर र अल्छी शरीरले अस्वस्थ मन बनाउँछ अनि जति नाम र दाम कमाए पनि के काम लाग्यो त ?
हुन त हाल विश्वभर नै मानसिक स्वास्थ्य समस्या बढ्दो छ । तनाव, चिन्ता, अवसाद, एक्लोपन, निद्राको समस्या, आत्मविश्वासको कमीले विशेष गरी युवाहरूमा बढी समस्या देखिन्छ । नेपालमा पनि आर्थिक एवं सामाजिक दबाब, वैदेशिक रोजगारमा जानेहरूको समस्या, पारिवारिक तनाव, मोबाइल र समाजिक सञ्जालको कुलतका कारण मानसिक स्वास्थ्यमा असर परेको छ । यस्ता सबै समस्या एकैचोटि समाधान त गर्न सकिन्न तर दैनिक पाँच मिनेटको व्यायामले मानसिकरुपमा स्वस्थ रहन ठूलो भूमिका खेल्छ ।
प्रश्न उठ्न सक्छ, पाँच मिनेटको मात्रै व्यायाम गर्ने त ? होइन, शारीरिक र मानसिक रुपमा स्वस्थ रहन यसभन्दा बढी समय पनि गर्न सकिन्छ । तर जो समयको अभावको ‘रोइलो’ गर्छन्, उनीरूका निम्ति ‘जीवनका लागि कमसे कम पाँच मिनेट त निकाल्न सकिन्छ नि’ भन्न खोजिएको हो । शारीरिक क्रियाकलाप र व्यायामले मस्तिष्कलाई पनि सक्रिय बनाउँछ । अनेक तरिकाले शरीर चलाएपछि ‘एन्डोर्फिन’ नामक एक रसायन निस्कन्छ, जसलाई ‘खुशीको हर्मोन’ पनि भनिन्छ । यो रसले तनाव घटाउने, मन खुशी बनाउने र मानसिक रुपमा सहज गराउन मद्दत गर्छ । व्यायामले शरीरमा रक्तसञ्चार बढाउँछ, अक्सिजनको मात्रा सुधार गर्छ र मस्तिष्कमा प्राणवायु (अक्सिजन) पुगेपछि कस्तिष्क ताजा हुन्छ । धेरै वैज्ञानिक अध्ययनहरूले देखाएका छन् कि दिनमा सक्रिय रहने व्यक्तिहरूलाई तनाव कम हुँदा आत्मविश्वास बढी हुन्छ र काममा ध्यान केन्द्रित गर्न सक्छन् । अध्ययन–अनुसन्धानले बोल्दा, ‘अहिलेको समयमा लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने व्यक्तिका लागि दिनमा ४–५ चोटि ५–५ मिनेटको व्यायाम गर्दा धेरै फाइदा हुन्छ ।’
के गर्छ त पाँच मिनेटको समयले ?
लगातार तनावको अवस्थामा रहँदा जोसुकैको पनि मानसिक अवस्था कमजोर हुँदै जान सक्छ । त्यस्तो बेलामा पाँच मिनेटको हल्का व्यायाम (जस्तै– छिटो हिँड्ने, गहिरो सास फेर्ने, जीउ तन्काउने) गर्नाले शरीरलाई आराम मिल्छ । यसले गर्दा तनाव बढाउने ‘कोर्टिसोल’ हर्मोनलाई कम गर्न मद्दत पुग्छ । हुन पनि शारीरिक परिश्रम नगर्नेहरुलाई हजारौँ रुपियाँ पर्ने नरम गद्दामा सुत्दा पनि गाह्रो होला तर मजदुरी गरेपछि पार्कको बेन्चमा कतिपय मजदुर मस्तसँग सुतिरहेका देखिन्छन् । यो परिश्रमरुपी व्यायामको कमाल हो ।
हरेक दिन योग व्यायाम गर्ने हो भने मन हलुका र सकारात्मक भावनाको विकास हुन पनि सघाउँछ । यसले मानसिक थकान र तनाव व्यवस्थापन गर्न सजिलो पार्छ । त्यसैले बालबालिका, किशोरकिशोरी, युवा, वृद्ध सबैका लागि शारीरिक व्यायाम अनिवार्य नै छ । शरीर चलायमान भए मस्तिष्क स्वस्थ रहन्छ । त्यसैले त वैज्ञानिकहरूले व्यायामलाई प्राकृतिक ‘एन्टिडिप्रेसन’ भनेर नाम दिएका छन् । किनभने शरीर चलायमान (हिँड्दा, दौडँदा, योगासन गर्दा, पौडी खेल्दा आदि) गर्दा मस्तिष्कमा सकारात्मक रसायन उत्पादन बढाउँछ, तनाव कम गराउँछ । थाकेको बेला विशेष गरी मन थाकेको बेलामा व्यायामले ऊर्जा दिन्छ । अझ बिहान उठेर व्यायाम गर्दा दिनभरिको लागि ऊर्जा पाइन्छ, हल्का व्यायामले सकारात्मक सोच विकास गर्न मद्दत गर्छ । बिहान समय नभए बेलुका वा दिउँसो पनि व्यायाम गर्न सकिन्छ ।
मानसिक रुपमा अस्वस्थ भएका, दुःखी भएर बसेकाहरूका लागि शारीरिक व्यायाम गर्दा तनाव कम गर्न सहज हुन्छ । पाँच मिनेटको व्यायामले पनि मानसिक स्वास्थ्य सुधार गर्न सकिन्छ । व्यायाम गर्ने व्यक्ति सक्रिय र सक्षम हुन्छ । स्वस्थ भए आत्मविश्वास पनि बढ्छ । पाँच मिनेट मात्र नियमित व्यायाम गरियो भने मानिसमा ‘म गर्न सक्छु’ भन्ने भावना विकास हुने सम्भावना हुन्छ । शारीरिक सक्रियताका लागि बिस्तारै बढी समय दिन थालिन्छ । दिनभरि मेचमा बसेर काम गर्ने व्यक्तिहरूले ‘मलाई त निद्रा नलागेर हैरान छ’ भनी गनगन गर्नुको साटो शारीरिक रुपमा चलायमान हुन सके मज्जाको निद्रा लाग्थ्यो । नत्र त अनिद्रा, बेचैनी भएर कतिजनालई उच्च रक्तचाप हुने समस्या पनि हुन सक्छ । ‘व्यायामले शरीरलाई थकित बनाउने मात्र होइन, मस्तिष्कलाई पनि शान्त बनाउँछ’ भन्ने कुरा बुझे त निद्रा लागेन भनेर चिन्ता नै गर्नुपर्दैनथ्यो ।
बैद्धिक काम गर्ने व्यक्तिहरू जस्तै– डाक्टर, लेखक, विद्यार्थी, पत्रकार, शिक्षक, कार्यालय कर्मचारी आदिको लागि त हल्का व्यायाम झन् आवश्यक हुन्छ । पाँच मिनेटको व्यायामले पनि मस्तिष्कमा रक्तसञ्चार बढाउँछ, शरीर र मस्तिष्कमा अक्सिजन दिन्छ । जसले स्मरण शक्ति, ध्यान तथा निर्णय क्षमता बढाउन मद्दत गर्छ । तर एउटा कुरा विचार गर्नुपर्छ, व्यायामका साथै दैनिक जीवनमा सन्तुलित भोजन पनि जरुरी छ । व्यायाम गरेर मज्जासँग भोक लागेपछि पत्रु खाना खाएमा भने त्यसले समस्या निम्त्याउन सक्छ ।
अर्को कुरा, लिफ्टको प्रयोगले मानिसलाई अल्छी बनाउँछ । त्यसैले लिफट्को प्रयोग अलि कम गरी भ¥याङ चढ्ने बानी गर्नुपर्छ । दुई–तीन तला भ¥याङ चढ्दा मुटु सक्रिय हुन्छ र ऊर्जा बढ्छ । यस्तै बेलाबेलामा आङ, हातखुट्टा तन्काउने, कुर्सीमै बसेको बेलामा पनि साधारण योगासन गर्ने गर्नुपर्छ । घाँटी, काँध, हात, ढाड र खुट्टा तन्काउने अभ्यासले शरीर हलुका हुन्छ । लामो समय कुर्सीमा बसेर काम गर्नेहरूको लागि त हरेक २–३ घण्टामा यो गर्न जरुरी नै छ ।
अहिले प्रणायामको बारे पनि धेरै बहस हुने गरेको छ । यसको अभ्यासले मन शान्त बनाउने र चिन्ता कम गर्ने वैज्ञानिक अनुसन्धानले बताएको छ । साथै विभिन्न किसिमका सरल योगासनले पनि मानसिक शान्ति र शरीरको लचकता दुवै बढाउँछ । हिँड्ने, दौडने वा नृत्य गर्नेजस्ता अभ्यासले पनि शरीरमा रक्तसञ्चार तीव्र बनाउँछ र ऊर्जा बढाउँछ । हरेक दिन मन पर्ने गीतमा केही मिनेट नाच्दा पनि तनाव कम हुन्छ । साथीसँग नाच्दा त रमाइलो पनि हुन्छ ।
बालबालिका र युवाको लागि त शारीरिक सक्रियता झन् जरुरी छ । बालबालिका र युवाले मोबाइल, इन्टरनेट र भिडियो गेममा बढी समय बिताउँदा शारीरिक रूपमा निष्क्रिय छन् । विद्यालय वा घरमा दिनको पाँच मिनेट व्यायाम गर्ने बानी बसाल्न सके बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता, अनुशासन र आत्मविश्वास बढ्न सक्छ । वयष्कका लागि शारीरिक सक्रियता झन् महत्वपूर्ण छ । कतिपयको उमेर बढ्दै जाँदा मानसिक एक्लोपन पनि बढ्न सक्छ । हल्का व्यायामले उनीहरूको शरीर चलायमान र मानसिक सक्रियता कायम राख्न मद्दत गर्छ । साथै सकारात्मक र ऊर्जावान् बनाउँछ । त्यस्तै कार्यालयमा काम गर्नेहरु लामो समय कम्प्युटरअगाडि बस्दा शरीर र मन दुवै थकित हुन्छ । हरेक एक घण्टामा पाँच मिनेट उठेर हिँड्ने, हातखुट्टा चलाउने वा स्ट्रेचिङ गर्ने अभ्यासले तनाव कम हुन्छ ।
नेपालमा यसको आवश्यकता :
नेपालमा मानसिक स्वास्थ्यबारे अझै पनि पर्याप्त खुलापन छैन । धेरै मानिस मानसिक समस्यालाई लुकाउने गर्छन् । ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्य सेवा अझै सीमित छ । यस्तो अवस्थामा सजिलो, सस्तो र सबैले गर्न सक्ने उपायको आवश्यकता छ । पाँच मिनेटको दैनिक व्यायाम यस्तो उपाय बन्न सक्छ । (बीबीसी) । विद्यालय, कार्यालय, सञ्चार संस्था, समुदाय तथा परिवारमा छोटो व्यायाम गर्ने संस्कृति विकास गर्न सकियो भने मानसिक स्वास्थ्य प्रवद्र्धनमा ठूलो योगदान पुग्न सक्छ । यसमा लेखिएका तथ्यहरू विज्ञानमा आधारित छन् ।
स्वास्थ्य अनुसन्धानहरूले नियमितरुपमा सानो व्यायामले पनि शरीरमा सकारात्मक परिवर्तन ल्याउने पुष्टि गरेका छन् । व्यायामले मुटुको स्वास्थ्य सुधार्नुका साथै मस्तिष्कको कार्यक्षमता बढाउँछ । विशेषज्ञहरूका अनुसार अल्छी भएर केही नगर्नुभन्दा थोरै गर्नु राम्रो हो । पाँच मिनेटबाट शुरु गर्दा बिस्तारै स्वस्थ जीवनशैली विकास गर्न सजिलो हुन्छ ।
पाँच मिनेटको व्यायाम सानो कुराजस्तो लाग्न सक्छ तर यसको प्रभाव निकै ठूलो हुन सक्छ । हरेक दिन पाँच मिनेट व्यायाम गर्दा पछि गएर आधा घण्टा पनि गर्न सहज हुन्छ । व्यायामको लत लागेपछि यसले जीवनमा स्वस्थ हुन भूमिका खेल्छ । पाँच मिनेटमा गर्न सकिने सजिला व्यायाम के होलान् त भनेर विचार गर्नेहरूले आजकल युट्युबमा पनि हेर्न सक्छन् । आजको डिजिटल र तनावपूर्ण जीवनमा मानसिक स्वास्थ्य जोगाउन औषधि मात्र होइन, दैनिक जीवनशैली पनि महत्वपूर्ण हुन्छ । पाँच मिनेट हिँड्ने, स्ट्रेचिङ गर्ने, योग गर्ने वा गहिरो सास फेर्ने अभ्यासले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । स्वस्थ शरीर र स्वस्थ मनका लागि दिनको केवल पाँच मिनेट छुट्याउनु भविष्यका लागि ठूलो लगानी हो ।











प्रतिक्रिया