धनगढीमा आत्मदाह प्रयास गरेकी ज्योति चौधरीको बाटोमै मृत्यु, घटनाबारे अनुसन्धान जारी


धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै आफन्तले उनको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने तयारी गरिएको थियो। तर आफन्तले काठमाडौंमा उपचार गराउने निर्णय गरेपछि एम्बुलेन्समार्फत काठमाडौं लगिँदै थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार सोमबार बिहान करिब ७ बजे धादिङ पुगेका बेला बाटोमै चौधरीको मृत्यु भएको हो।

प्रहरीले मृतकको शव पुनः कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाको कारण अझै खुल्न नसकेको र आत्मदाह प्रयासको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ.

प्रहरीले पारिवारिक, व्यक्तिगत वा अन्य कुनै कारणले उक्त घटना भएको हो भन्ने विषयमा सबै पक्षबाट अनुसन्धान भइरहेको बताएको छ।