काठमाडौँ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगन्ज बजार आइतबार मध्यरात तनावग्रस्त बनेको छ। साउने सोमबारको ‘बोलबम’ यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको एक समूह र रातिको समयमा ठूलो आवाजले ध्वनि प्रदूषण भएको भन्दै विरोध जनाएको अर्को समूहबीच सुरुमा भनाभन भएको थियो। यही विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडपको अवस्था सिर्जना भएको बताइएको छ।
झडप उग्र बन्दै गएपछि उत्तेजित भीडले कप्तानगन्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेको प्रहरीले जनाएको छ। त्यसपछि बजार क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको थियो। तर, त्यसबाट पनि भीड नियन्त्रणमा नआएपछि थप क्षति रोक्न बाध्य भएर गोली चलाउनुपरेको स्थानीय प्रशासन र प्रहरीको भनाइ छ।
घटनापछि कप्तानगन्ज तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया