बर्लिन दूतावासमा बदमासी: आफ्नालाई जागिर खुवाउन फेसबुकमा म्याद थप

0
Shares

–वेबसाइटमा पुरानै यथावत्

जर्मनी।

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासमा आफ्ना नजिकका मान्छेलाई जागिर खुवाउने उद्देश्यले पदपूर्तिसम्बन्धी सूचनामा चलखेल र तोडमोड गरिएको विषय अहिले छताछुल्ल भएको छ ।

दूतावासले गत जुलाई १३ मा स्थानीय कर्मचारीको रूपमा एक पब्लिक रिलेसन अफिसर (पिआरओ) को विज्ञापन सात दिनको समय दिएर वेबसाइट र फेसबुक पेजमार्फत सूचना सार्वजनिक गरेको थियो ।

दूतावासका अनुसार आवेदन दिने अन्तिम दिन २० जुलाईसम्म १० जना उम्मेदवारले आवेदन दिएका थिए भने २१ तारिख अन्तर्वार्ताका लागि बोलाइएको थियो । २१ तारिख दूतावासले बनाएको छनोट समितिले २ जना उम्मेदवारको अन्तर्वार्ता पनि लियो, तर त्यसपछि रोकियो । कारण थियो २० तारिख राती नै राजदूतावासको आधिकारिक फेसबुक पेजमा कुनै कारण नखुलाई अगस्ट ९ सम्म निवेदन दिन समय बढाइएको थियो ।

सरकारी निकाय र कूटनीतिक नियोगहरूले जारी गर्ने सूचनाको मुख्य स्रोत वेबसाइटमा रहेको आधिकारिक पत्र हुनुपर्छ । वेबसाइटको पत्रमा जुलाई २० सम्म मात्र म्याद हुनु र सामाजिक सञ्जालमा अगष्ट ९ भनिनुले ठूलो भ्रम सिर्जना गरेको निवेदकहरूको बुझाइ छ । दुई जना उम्मेदवारको अन्तर्वार्ता भए पछि दूतावासका एक कर्मचारीले अगष्ट ९ सम्म समय बढाएको थाहा पाएपछि कार्यवाहक राजदूत सागरप्रसाद फुयालले अन्तर्वार्ता रोकेको दूतावास स्रोत बतायो ।
विषय सार्वजनिक भएर पोल खुलेपछि अहिले आफ्नो कर्तुत छोप्नलाई १३ तारिख सार्वजनिक सूचनाको क्याप्सनलाई नै इडिट गरेर अगष्ट ९ बनाइएको छ । तर दूतावासको वेबसाइट र फेसबुक पेजमा राखिएको (स्क्यान) सूचनामा हालसम्म पनि जुलाई २० सम्मकै सूचना सार्वजनिक छ ।

नेपाल सरकारको आधिकारिक सूचना सम्प्रेषण गरिने सामाजिक सञ्जाललाई दुरुपयोग गर्नेलाई दूतावासले के सजाय गर्छ, भनेर बर्लिनस्थित कार्यवाहक राजदूत सागर फुयाललाई नेपाल समाचारपत्रले सोधेको थियो । तर राजदूत फुयालले आफू नेपाल फर्कन लागेको हुँदा यसबारे आउने राजदूतले काम अघि बढाउने भन्दै पन्छिन खोज्नुभयो ।

‘यो एउटा कूटनीतिक कर्मचारीबाट कल्पना नै गर्न नसकिने कुकर्म भएको छ । कसले गरेको हो त्यो सजिलै पत्ता लाग्छ । इफ, बट नभनी सार्वजनिक गरेर कारबाही अघि बढाउनुपर्छ’ –दूतावासका एक कर्मचारीले भने । ‘यस्ता कुकर्म गर्ने अनुशासनहीन कर्मचारीका कारण हाम्रो समेत शिर निहुरिएको छ’ –ती कर्मचारीले दुखेसो पोखे ।

आफ्नो नजिकका नातेदारलाई जागिर खुवाउन यो स्तरको हर्कत गर्ने दूतावासका पदाधिकारीलाई तुरुन्त नेपाल फर्काएर कानुनअनुसार कारबाही गर्न माग गर्दै उजुरीसमेत परेको छ । कडा कूटनीतिक मर्यादाभित्र रहनुपर्ने दूतावासका कर्मचारीको यस प्रकारको घटिया हर्कत गर्ने व्यक्ति दूतावासजस्तो संवेदनशील स्थानमा रहनु राष्ट्रका लागि घातक हुने भन्दै ‘हेलो सरकार’ मा निवेदनसमेत दिएको एक आवेदकले बताए ।

‘आफ्नो नजिकका नातेदारलाई जागिर खुवाउन राजदूतावासका पदाधिकारीले गरेको यो स्तरको हर्कतले हामी सामान्य जनताको दूतावासप्रतिको विश्वास नै गुमेको छ’ –ती आवेदकले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताए ।

दूतावास जस्तो संवेदनशील संस्थाले जनतालाई सूचना दिने प्लेटफर्ममा छेडखानी गर्नु कानुनविपरीत कार्य हो । तसर्थ यो कार्य गर्ने दूतावासका पदाधिकारीलाई तुरुन्त नेपाल फर्काएर कारबाही गर्न हेलो सरकारमार्फत नेपाल सरकारसँग आग्रह पनि गरिएको छ ।

साथै निर्धारित समयमा निवेदन दिएका मध्ये सबैभन्दा योग्य व्यक्तिको छनोट प्रक्रिया तुरुन्त अघि बढाउन बर्लिनस्थित दूतावासलाई सरकारको तर्फबाट निर्देशन दिन आवेदकले माग गरेका छन् । आफ्ना नजिकका मान्छे वा नातागोतालाई जागिर खुवाउने उद्देश्यले विज्ञापन वा पदपूर्तिसम्बन्धी सूचनामा चलखेल र तोडमोड गरिएको विषय गम्भीर प्रशासनिक कमजोरी र अनियमिताको दायराभित्र पर्दछ । नेपाली नियोगहरूमा स्थानीय कर्मचारी भर्ना गर्दा पारदर्शिता अपनाउनुपर्ने कानुनी प्रावधान भए तापनि बेलाबेला यस्ता सूचना लुकाउने वा तोडमोड गर्ने स्वार्थी कर्मचारीहरूले मोटो रकमसमेत लिने गरेको तथ्यहरू बेला बखत समाचारमा आउने गरेको छ । नेपाली दूतावासप्रति जनताको अविश्वास पैदा गराउने यस्ता घटना र सार्वजनिक गुनासाहरू बाहिर आउन थालेका छन् ।