–डीन कार्यालयको कमजोरी, स्ववियुले डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा माग्यो
–डीन कार्यालयबाट होइन, मन्त्रालय वा भिसी कार्यालयबाट समिति बनाउन माग
–दुई जना पक्राउ, सीआईबीले अनुसन्धान थाल्यो
काठमाडौँ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको ६ मिनेटमा ह्वाट्सएपबाट लिक भएको विषयमा कसरी छानबिन गर्ने भन्नेमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, त्रिवि र प्रहरीलाई टाउको दुखाइ भएको छ । हुन त प्रश्नपत्र आउट भएको विषयमा छानबिन गर्न तीनसदस्यीय समिति गठन भएको छ ।
छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका डा. अच्युत ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका डा. सदस्य महेशराज ओझा छन् ।
समितिलाई सात दिन समय दिएको छ । तर छानबिन समितिप्रति त्रिवि केन्द्रीय क्याम्पस स्ववियुलाई विश्वास छैन । स्ववियु अध्यक्ष दीपक जोशीले प्रश्नपत्र आउट गर्ने घटनाको मुख्य दोष व्यवस्थापन संकायका डीन भएकाले डीनको राजीनामा मुख्य माग हो भन्नुभयो ।
उहाँले छानबिन समितिका सदस्यको समेत राजीनामा माग्नुभएको छ । नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो समितिलाई विद्यार्थीको मान्यता छैन, कि त मन्त्रालय, नभए उपकुलपति कार्यालयले छानबिन समिति बनाउनुपर्छ ।’
‘आफैँ बोक्सी आफैँ झाँक्री भने जस्तो डीन कार्यालय नै दोषी भएर उसले आफ्नो समिति बनाएर छानबिन हुन्छ भन्ने कुरा कतिको सान्दर्भिक हुन्छ’ –उहाँले सामाजिक सञ्जालमा लेखेको आरोप थियो । ‘तत्काल डीन र सहायक डीनको राजीनामाको विकल्प, छैन । राजीनामा नदिए आन्दोलन गर्ने उहाँको भनाइ थियो ।
व्यवस्थापन संकाय, डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग स्ववियु अध्यक्षको छ । ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन । त्रिविले सातादिनको समय दिए पनि स्ववियुले २ दिनभित्र छानबिन गरी कारबाही गर्न माग गर्दछाँै’ –अध्यक्ष जोशीको भनाइ थियो ।
प्रहरीले प्रश्नपत्र लिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रश्नपत्र लिक भएको विषय बाहिरिएपछि मन्त्री पोखरेलले शनिवार राती प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल दोषी पक्राउ गर्न निर्देशन दिनुभएको थियो । मन्त्रालयमा भएको छलफलपछि घटनामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मन्त्री पोखरेलले उपकुलपति भोला थापालाई पनि घटनाको विषयमा सत्यतथ्य जानकारी माग गर्नुभएको थियो । उपकुलपति थापाले यस विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । स्ववियु अध्यक्ष जोशीले भन्नुभयो– ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन । दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’
मास्टर अफ विजनेस स्टडिज विषयको परीक्षा गत बिहीवार १२ बजेदेखि ४ बजेसम्म देशभरका क्याम्पसहरूमा सञ्चालन भएको थियो । प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समयअघि केन्द्राध्यक्षको रोहवरमा शिलबन्दी भएको प्रश्नपत्रको पोका खोलिन्छ । गणना हुन्छ, त्यसपछि मात्र प्रश्नपत्र वितरण हुन्छ ।
विभिन्न ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र लिक भएको प्रमाण सार्वजनिक भएको छ । प्रश्नपत्र केही कलेजबाट लिक भएको विद्यार्थीको गुनासो छ । स्ववियु अध्यक्ष जोशीले परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र बाहिरिएको घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गर्ने बताउनुभयो ।
‘त्रिविको परीक्षामा प्रश्नपत्र आउट हुनु सामान्य विषयजस्तै भएको छ । सक्षम डीन भएको भए व्यवस्थित रूपमा परीक्षा हुने थियो’, अध्यक्ष जोशीले भन्नुभयो– ‘विद्यार्थीको मेहनत, खेर जान दिनुहँुदैन । शिक्षकले मर्यादा पालना गर्नुपर्छ ।’
प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो ? भन्ने विषयमा स्पष्ट जवाफ दिन तथा दोषी जोसुकै भएपनि कानुनबमोजिम कडा कारबाही गर्न स्ववियुले माग गरेको छ । त्रिवि व्यवस्थापन संकायका डीन महानन्द चालिसेले यस घटनामाथि छानबिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘तोकिएकै मितिमा प्रतिवेदन सार्वजनिक गर्नेछौँ ।’ डीन चालिसेले यो प्रश्नपत्र लिक नभएर परीक्षा सुरु भएपछि कसैले मोबाइल प्रयोग गरी खिचेर बाहिर पठाएको हुनसक्ने अनुमान छ ।











प्रतिक्रिया