काठमाडौँ।
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको साेमबार औपचारिक रुपमा उद्घाटन हुँदैछ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हाे । जसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाइएकाे हाे ।
पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा साेमबार बिहान १० बजेर २५ मिनेट जाँदा सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरएिको छ । कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्ने भएका हुन् । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइने भएकाे छ। केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन गर्न दिने तयारी गरिएकाे छ ।
सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने जनाइएको हाे । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन । कूल २ हजार ६ सय ८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ ।
सडक विभागले कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० शुल्क तिर्नुपर्ने जनाएकाे हाे । मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा १ सय १५ र बाहिरिँदा ८० बराबरको शुल्क बुझाउनुपर्नेछ । त्यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २ सय ६० र बाहिरिँदा २ सय रुपैयाँ बराबरको शुल्क तिर्नुपर्ने विभागले जनाएकाे हाे।











प्रतिक्रिया