सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी


काठमाडौँ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको जानकारी दिएका छन् ।

कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा प्रदर्शनकारी र प्रहरी गरी १७ जना घाइते भएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यू अवधिभर तोकिएको क्षेत्रभित्र सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा समेत रोक लगाइएको छ।

प्रशासनले सुरक्षा अवस्था सामान्य नहुँदासम्म कर्फ्यू यथावत् रहने जनाएको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।