पटक–पटक उस्तै प्रकृतिको घटना, नियामक निकायको निगरानी कमजोर कि कम्पनीको लापरबाही ?
काठमाडौँ।
नेपालमा उत्पादन हुने शीतल पेय पदार्थको गुणस्तरमाथि फेरि गम्भीर प्रश्न उठेको छ । वरुण बेभरेज नेपाल प्रालिले उत्पादन गर्ने लोकप्रिय पेय पदार्थ ‘स्लाइस’ को सिलबन्दी बोतलभित्र लेदो (फोहोरजस्तो बाह्य पदार्थ) भेटिएको घटनाले उपभोक्ताको स्वास्थ्य सुरक्षा, उत्पादन प्रक्रियाको विश्वसनीयता र सरकारी नियमनमाथि पुनः बहस सुरु भएको छ ।
यो कुनै पहिलो घटना भने होइन । यसअघि पनि यही कम्पनीले उत्पादन गर्ने सेभेनअप, माउन्टेन डेउ र पेप्सीलगायतका पेय पदार्थमा गुणस्तरसम्बन्धी गम्भीर उजुरीहरू सार्वजनिक भइसकेका छन् । तर प्रत्येक घटनापछि कम्पनीले सामान्य प्राविधिक त्रुटिका रूपमा व्याख्या गर्ने र केही समयपछि पुनः बजारमा उत्पादन पठाउने क्रम दोहोरिँदा उपभोक्ताहरूले सरकारी नियामक निकायको प्रभावकारितामाथि नै प्रश्न उठाउन थालेका छन् ।
यसपटक सार्वजनिक भएको स्लाइसको सिलबन्दी बोतलभित्र स्पष्ट रूपमा लेदो पदार्थ देखिएपछि सामाजिक सञ्जालदेखि उपभोक्ता अधिकारकर्मीसम्मले कडा कारबाहीको माग गरेका छन् । उनीहरूको भनाइमा यो केवल एउटा बोतलको समस्या होइन, उत्पादन प्रणालीमै रहेको सम्भावित कमजोरीको सङ्केत हो ।
वरुण बेभरेज नेपाल प्रालिको उत्पादनमाथि यसअघि पनि गम्भीर प्रश्न उठिसकेको छ । केही समयअघि कम्पनीले उत्पादन गरेको सेभेनअपको सिलबन्दी बोतलभित्र प्लास्टिकजस्तो बाह्य पदार्थ भेटिएको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादन तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको थियो ।
विभागले नमुना परीक्षण तथा अनुसन्धान अघि बढाउँदै कम्पनीसँग स्पष्टीकरणसमेत मागेको थियो । त्यतिबेला घटना सार्वजनिक भएपछि कम्पनीले उत्पादन प्रक्रियामा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो ।
त्यसअघि पनि विभिन्न समयमा माउन्टेन डेउ र पेप्सीका उत्पादनमा गुणस्तरसम्बन्धी प्रश्न उठेका समाचार सार्वजनिक भएका थिए । यद्यपि ती घटनापछि दीर्घकालीन सुधार गर्नेतर्फ कम्पनी लागेको देखिँदैन । यही कारण अहिले फेरि स्लाइसमा बाह्य पदार्थ भेटिएपछि उपभोक्ताहरूले ‘उही कम्पनी, उही समस्या, फेरि उस्तै लापरबाही’ भन्दै सरकारको नियमन प्रणालीमाथि प्रश्न उठाएका छन् ।
घटनाबारे प्रतिक्रिया माग्दा वरुण बेभरेजका वितरण विभाग प्रमुख अनिश पौडेलले फोटो मात्र हेरेर कुनै निष्कर्ष निकाल्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘फोटो मात्र हेरेर केही भन्न सकिँदैन । सायद यो उत्पादन नवलपरासी प्लान्टको जस्तो देखिन्छ । यो विषयमा माथिल्लो निकायलाई जानकारी गराउँछु र आवश्यक छानबिन हुन्छ ।’
तर कम्पनीको यस्तो प्रतिक्रियाले उपभोक्तालाई सन्तुष्ट बनाउन सकेको छैन । उनीहरूको भनाइमा उत्पादन बजारमा पुगिसकेपछि दोष स्वीकार गर्नुभन्दा पनि वास्तविक कारण सार्वजनिक गरेर जिम्मेवारी लिनुपर्ने हुन्छ ।
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले एउटै कम्पनीका उत्पादनमा पटक–पटक यस्तै प्रकृतिका उजुरी आउनुलाई अत्यन्त गम्भीर विषयका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सिलबन्दी पेय पदार्थभित्र बाह्य पदार्थ भेटिनु सामान्य प्राविधिक त्रुटि भनेर पन्छाउन मिल्दैन । एउटै कम्पनीबाट पटक–पटक यस्ता घटना दोहोरिनु भनेको उत्पादन प्रक्रियामा गुणस्तर नियन्त्रण प्रभावकारी छैन भन्ने सङ्केत हो । सरकारले तत्काल स्वतन्त्र प्राविधिक परीक्षण गराएर आवश्यक परे बजारबाट उक्त ब्याच फिर्ता गराउनुपर्छ ।’
बानियाँका अनुसार उपभोक्ताले उत्पादन खरिद गर्दा त्यसको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी निर्माता कम्पनी र नियामक निकायकै हुन्छ । उपभोक्ता अधिकारकर्मी हरिनारायण अधिकारीले भने यस्ता घटनालाई सरकारले हल्का रूपमा लिइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–‘नेपालमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले उद्योगहरू चलिरहेका छन् । गुणस्तरहीन उत्पादन बजारमा पठाउने, उजुरी आएपछि केही समय मौन बस्ने र फेरि उही उत्पादन बिक्री गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । जनस्वास्थ्यसँग खेलबाड गर्नेलाई उदाहरणीय कारबाही नभएसम्म यस्तो दोहोरिइरहन्छ ।’
उहाँले थप्नुभयो– ‘यदि एउटै कम्पनीका उत्पादनमा पटक–पटक यस्तै प्रकृतिका समस्या देखिन्छन् भने सरकारले त्यसको उत्पादन प्रक्रिया नै विस्तृत रूपमा परीक्षण गर्नुपर्छ । आवश्यक परे उत्पादनमा अस्थायी रोक लगाउन पनि पछि हट्नुहुँदैन । उपभोक्तालाई कति समयसम्म प्रयोगशाला बनाइरहने ।’
उपभोक्ता अधिकारकर्मीको भनाइमा नेपालमा खाद्य तथा पेय पदार्थको बजार अनुगमन पर्याप्त प्रभावकारी हुन सकेको छैन । उनीहरूका अनुसार अधिकांश अवस्थामा घटना सार्वजनिक भएपछि मात्रै विभाग सक्रिय हुने गरेको छ । नियमित उत्पादन परीक्षण, आकस्मिक निरीक्षण र उत्पादन लाइनको अनुगमन प्रभावकारी रूपमा हुन नसक्दा यस्ता समस्या दोहोरिने वातावरण बनेको छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार खाद्य उद्योगमा प्रत्येक उत्पादन ब्याचको कडा गुणस्तर परीक्षण हुनुपर्छ । यदि सिलबन्दी बोतलभित्र बाह्य पदार्थ भेटिन्छ भने त्यसले उत्पादन, प्याकेजिङ वा गुणस्तर नियन्त्रण प्रक्रियामै कमजोरी भएको सङ्केत गर्न सक्छ ।
घटना सार्वजनिक भएपछि धेरै उपभोक्ताले सम्बन्धित ब्याच तत्काल बजारबाट फिर्ता लिन, स्वतन्त्र प्रयोगशालाबाट परीक्षण गराउन र दोषी देखिए कम्पनीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।
उपभोक्ताहरूले बारम्बार एउटै कम्पनीका उत्पादनमा विवाद आउँदा पनि प्रभावकारी कारबाही नहुँदा उद्योगहरूले कानुनी दण्डको डर नै नगरेको टिप्पणी गरेका छन् । उनीहरूको भनाइमा उपभोक्ताले पैसाको मूल्य तिरेर सुरक्षित खाद्य वस्तु किन्ने अधिकार राख्छन् । त्यसैले उत्पादनको गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन ।
स्लाइसको सिलबन्दी बोतलभित्र भेटिएको लेदो पदार्थबारे सम्बन्धित सरकारी निकायले औपचारिक रूपमा अनुसन्धान सुरु गरेको घोषणा भने अहिलेसम्म गरेको छैन । तर घटना सार्वजनिक भएसँगै उपभोक्ता अधिकारकर्मीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तत्काल नमुना सङ्कलन, प्रयोगशाला परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
वरुण बेभरेजका उत्पादनमाथि यसअघि पनि पटक–पटक गुणस्तरसम्बन्धी प्रश्न उठिसकेको सन्दर्भमा यसपटकको घटनालाई सरकारले कसरी लिन्छ भन्ने चासो बढेको छ । यदि पुनः सामान्य स्पष्टीकरणमै विषय टुङ्ग्याइयो भने उपभोक्ताको विश्वास झन् कमजोर हुने निश्चित छ ।
उपभोक्ताको स्वास्थ्य कुनै कम्पनीको व्यावसायिक हितभन्दा माथि हुने भएकाले अब नियामक निकायले कडा र पारदर्शी छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने माग बलियो बन्दै गएको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्तो विषयमा समयमै प्रभावकारी निर्णय नलिए भविष्यमा अझ गम्भीर परिणाम निम्तिन सक्ने भन्दै विज्ञहरूले सरकारलाई सचेत गराएका छन् ।











प्रतिक्रिया