धादिङ।
धादिङको ज्वालामुखी गाउँपालिका–६ साँधभन्ज्याङस्थित मिलनटोलमा रोपाइँमा सहभागी एक बालकसहित १५ जना एक्कासि गम्भीर बिरामी परेका छन्। प्रारम्भिक रूपमा खानाबाट हुने विषाक्तता (फुड पोइजन) वा विषादी मिसिएको पानीका कारण घटना भएको हुन सक्ने आशंका गरिए पनि वास्तविक कारण अझै पुष्टि भएको छैन।
स्थानीय यानबहादुर मगरातीका अनुसार बिरामी हुनेमध्ये एक बालक, ६ पुरुष र ८ महिला रहेका छन्। उनीहरूमध्ये चार जना साउन ९ गते र छ जना साउन १० गते बिहान धादिङ अस्पतालमा भर्ना भएका छन् भने बाँकी बिरामीहरू पनि उपचारका लागि धादिङ अस्पताल आइपुगेकाे र उपचार सुरु भएको छ ।
स्थानीय मिरा रम्तेलको खेतमा साउन ७ गते रोपाइँ गर्ने क्रममा सबैले खाना खाएका थिए। खानामा भात, कुखुराको मासु, चटनी, अचार र तरकारी खाएको तथा खेतमाथिको मुहानको पानी पिएको जानकारी दिइएको छ। खेतधनी मिरा रम्तेल स्वयं पनि बिरामी परेकी भए पनि आर्थिक अभावका कारण अस्पताल जान नसकी घरमै रहेकाेमा धादिङ अस्पतालले निःशुल्क उपचार गराउने जानकारी पाएपछि आइतबार अस्पताल पुग्नुभएको छ ।
स्थानीयका अनुसार उक्त मुहानको क्षेत्रमा साउन २ गते झार मार्ने विषादी प्रयोग गरिएको थियो। त्यसपछि साउन ७ गते रोपाइँ सम्पन्न गरी पानी पिएपछि राति करिब १२ बजेदेखि सहभागीहरूमा एकपछि अर्को गर्दै स्वास्थ्य समस्या देखिन थालेको बताइएको छ।
बिरामीहरूमा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको थियो। सुरुमा गाउँकै मेडिकलमा उपचार गराइए पनि अवस्था जटिल बन्दै गएपछि उनीहरूलाई धादिङ अस्पताल ल्याइएको हो। रोपाइँमा गएका सबैजना र एक बालक बिरामी परेका छन्। जसले राेपाइँकाे खाना र पानी खाएका थिए ।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. नवीन महासेठले खानेकुराबाट भएको फुड पोइजन, विषादीयुक्त पानी वा अन्य कुनै कारणले समस्या भएको हो भन्ने विषय अझै यकिन नभएको बताउनुभयाे । यद्यपि बिरामीहरूको उपचार फुड पोइजन तथा विषादीजन्य असरलाई मध्यनजर गर्दै गरिएको र सबै बिरामीको निःशुल्क उपचार भइरहेको उहाँले जानकारी दिनुभयाे।
घटनाबारे पालिकासँग समन्वय गरी अध्ययन सुरु गरिएको जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोया छत्कुलीले बताउनुभयाे । उहाँका अनुसार बिरामी हुनुको वास्तविक कारण पत्ता लगाउन स्वास्थ्य प्राविधिक टोलीले आवश्यक अनुसन्धान गर्नेछ।
यस्तै, ज्वालामुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले धादिङ अस्पतालसँग समन्वय गरेर बिरामीलाई अस्पताल ल्याउने, उपचारमा सहजीकरण गर्ने तथा घटनाको कारण पहिचान गर्न विस्तृत अध्ययन गरिने बताउनुभयाे ।
ज्वालामुखी गाउँ पालिका नेपालकै स्वस्थ्य पालिका घाेषणा भएको र सबै घरमा पानी छानेर पिउनका लागि फिल्टर वितरण गरिएको भएपनि सचेतना कमीका कारण शुद्धीकरण गरिएको नभइ खेतकाे मुहानकाे पानी पिइएकाेले सचेतना अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेकाे छ ।
स्वास्थ्यकर्मीहरूले घटना पुष्टि नहुँदासम्म अफवाहमा नलाग्न, विषादी प्रयोग गरिएका क्षेत्रको पानी नपिउन, सामूहिक भोज वा खाजापछि यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न तथा खानेपानीका स्रोत सुरक्षित राख्न सबैलाई आग्रह गरेका छन्। घटना खाद्य सुरक्षा र विषादीको सुरक्षित प्रयोगप्रति थप सतर्क रहन आग्रह गरिएको छ ।











प्रतिक्रिया