व्यापारिक जहाजमाथिको आक्रमणको जवाफ दिने इरानको चेतावनी


तेहरान।

क्यास्पियन सागरमा आफ्नो व्यापारिक जहाजमाथि भएको आक्रमणको आरोप युक्रेनमाथि लगाउँदै इरानले त्यसको उपयुक्त जवाफ दिने चेतावनी दिएको छ। शनिबार भएको उक्त आक्रमणमा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको इरानले जनाएको छ।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार विस्फोटपछि इरानी विदेश मन्त्रालयले घटनाको कडा शब्दमा विरोध जनाएको छ। मन्त्रालयले रुस–युक्रेन युद्धमा आफूले कुनै पक्ष नलिएको दाबी गर्दै व्यापारिक जहाजलाई निशाना बनाइनु अन्तरराष्ट्रिय कानुनविपरीत भएको उल्लेख गरेको छ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजलाई लक्षित गरी लामो दूरीको आक्रमण गरिएको बताएका थिए। उनले उक्त कारबाहीबाट युक्रेनी सेनाले महत्वपूर्ण सफलता हासिल गरेको दाबी गरेका छन्।

युक्रेनको गुप्तचर निकाय (एसबीयू) ले पनि टेलिग्राममार्फत अन्तरराष्ट्रिय प्रतिबन्धमा परेका तथा इरान–रुसबीच सैन्य सामग्री ढुवानीमा प्रयोग हुने कार्गो जहाजमाथि ड्रोन आक्रमण गरिएको जनाएको छ। आक्रमणको क्रममा एउटा युद्धपोतसमेत निशानामा परेको दाबी गरिएको छ।

घटनापछि इरानी विदेश मन्त्रालयले तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूतलाई बोलाएर कडा विरोध जनाएको छ। इरानी सरकारी टेलिभिजनका अनुसार मन्त्रालयले यसलाई ‘शत्रुतापूर्ण र आपराधिक कार्य’ को संज्ञा दिएको छ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली सङ्घ (इयू)की विदेश नीति प्रमुख काजा कालाससँगको टेलिफोन संवादमा घटनाबारे गम्भीर चासो व्यक्त गर्दै इयू र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले स्पष्ट र कडा प्रतिक्रिया जनाउनुपर्ने बताएका छन्।