काठमाडौं, (नेस) ।
नेपाली फुटबलको विकास तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडीको कल्याणका लागि सक्रिय फुटबलर्स मिसन टुगेदरले विभिन्न संस्था तथा कम्पनीसँग सहकार्य सम्झौता गरेको छ ।
आफ्नो तेस्रो साधारण सभाको मिसन टुगेदरले आगामी तीन वर्षका लागि एनएमबी बैंक, के.सी. ग्रुप अफ कम्पनी, यो यो मोःमो नेपाल, कार्की ब्याङ्क्वेट, चिन्दित्स सेक्युरिटी र ट्रिनिटी इन्टरनेसनल कलेजसँग औपचारिक समझदारीपत्र गरेको जनाएको छ ।
मिसन टुगेदरलाई बार्षिक रुपमा के.सी.ग्रुपले १० लाख, यो यो मोमोले १० लाख, कार्की ब्याङ्क्वेटले २ लाख र चिन्दित्स सेक्युरिटीले १ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता पनि सोही अवसरमा भएको छ ।
खेलाडीको स्वास्थ्य सुरक्षाका लागि फुटबलर्स मिसन टुगेदरले स्पार्क हेल्थ होमसँग विशेष सम्झौता गरेको छ । सम्झौताअनुसार खेलाडीले फिजियोथेरापी सेवामा ५० प्रतिशतसम्म तथा औषधि उपचारमा ४० प्रतिशतसम्म छुट पाउनेछन् । औषधि खरिदमा पनि विशेष छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
यसअघि नै ब्लु क्रस हस्पिटलसँग पनि खेलाडीको स्वास्थ्य उपचारसम्बन्धी यस्तै सहकार्य सम्झौता भइसकेको संस्थाले जनाएको छ ।
यी संस्थासँगको सहकार्यबाट नेपाली फुटबलको विकास, ग्रासरुट तथा युवा फुटबल कार्यक्रम र खेलाडी कल्याणसँग सम्बन्धित गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्य र समन्वयमा नेपाली फुटबलको विकास तथा फुटबलसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।
संस्थाले नेपाली फुटबलको विकास, पूर्व खेलाडीहरूको कल्याण तथा खेलाडी कल्याणकारी कोषलाई थप मजबुत बनाउन आगामी दिनमा विभिन्न संघसंस्था तथा निजी क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
अध्यक्षमा राणा
फुटबलर्स मिसन टुगेदरको तेस्रो साधारण सभाले भिक्टर जङ्गबहादुर राणाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शनिबार भएको साधारण सभाबाट विज्ञान राज शर्मा, निरञ्जन विक्रम राणा, सरिला श्रेष्ठ, उपेन्द्रमान सिंह र विराट जङ्ग शाही उपाध्यक्षमा निर्वाचित भए ।
यस्तै, धिरेन्द्र प्रधान महासचिव, बसन्तकुमार लामा कोषाध्यक्ष, कमला हिराचन सह–कोषाध्यक्ष तथा राजेश मानन्धर र दिपा क्षेत्री सदस्यमा चयन भएका छन्।











प्रतिक्रिया