काठमाडौँ ।
नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन आइतबार सकिँदैछ। शुक्रबार राष्ट्रिय भेलाका रूपमा सुरु भएको कार्यक्रम शनिबार सम्मेलनमा परिणत भएको थियो।
सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्तावमाथि समूहगत छलफल सम्पन्न भएसँगै आइतबार निष्कर्ष निकालिने आयोजकले जनाएको छ। नेता रमेश लेखकले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव, विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव, एनपी साउदको समसामयिक प्रस्ताव र प्रकाशशरण महतको आर्थिक–सामाजिक नीतिसम्बन्धी प्रस्तावमाथि शनिबार छलफल गरिएको थियो।
लेखकको ४३ बुँदे अवधारणा पत्रमा पार्टीका निर्वाचित सभापति तथा पदाधिकारीमाथि अविश्वास प्रस्ताव, विशेष महाधिवेशन, केन्द्रीय कार्यालय र केन्द्रीय कार्यसमितिसम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाउन प्रस्ताव गरिएको छ।
निधिले शेरबहादुर देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन आयोजना गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। साउदले पार्टीले विगतका गल्ती जनतासमक्ष स्वीकार गर्दै आत्मसमीक्षा र सुधारको प्रतिबद्धता जनाउनुपर्ने धारणा राख्नुभएको छ।
त्यस्तै, महतले कांग्रेसको आगामी आर्थिक–सामाजिक विकासको कार्यदिशासम्बन्धी १० बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। प्रस्तावमाथिको छलफलपछि सम्मेलनले आवश्यक निष्कर्षसहित निर्णय सार्वजनिक गर्ने बताइएको छ।











प्रतिक्रिया