तीन महादेशका छ राष्ट्रमा सय वर्षे विश्वकप


लन्डन, (एजेन्सी) ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को पुरुष विश्वकपलाई ऐतिहासिक र अभूतपूर्व रूपमा आयोजना गर्ने घोषणा गरेको छ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपले १०० वर्ष पूरा गर्न लागेको अवसरमा आयोजना हुने शतवार्षिकी संस्करणमा तीन महादेशका छ वटा राष्ट्रहरू स्पेन, पोर्चुगल, मोरोक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वे स्वतः आयोजकका रूपमा छनोट भएका छन् ।
विश्वकपको इतिहासमै पहिलोपटक तीन महादेशमा एकैसाथ प्रतियोगिता सञ्चालन हुन लागेकाले यस संस्करणलाई फुटबल जगतमै सबैभन्दा ऐतिहासिक र विशाल खेलकुद महोत्सवका रूपमा हेरिएको छ ।

प्रतियोगिताको मुख्य आयोजना युरोप र उत्तर अफ्रिकाका तीन देश स्पेन, पोर्चुगल र मोरोक्कोले गर्नेछन् । जहाँ प्रतियोगिताका अधिकांश खेलहरू सञ्चालन हुनेछन् । अर्कोतर्फ, दक्षिण अमेरिकाका तीन देश उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा शतवार्षिकी विशेष उद्घघाटन खेलहरू आयोजना गरिनेछ ।

सन् १९३० को पहिलो विश्वकप विजेता उरुग्वे, उपविजेता अर्जेन्टिना र दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) को मुख्यालय रहेको पाराग्वेलाई यो ऐतिहासिक अवसरको सुरुआती आयोजकका रूपमा चयन गरिएको हो । यस ढाँचाले ऐतिहासिक जगलाई आधुनिक भव्यतासँग जोड्ने फिफाको उद्देश्य रहेको छ ।

भौगोलिक दूरी र महादेशीय यात्रालाई ध्यानमा राख्दै फिफाले प्रतियोगिताको तालिकालाई विशिष्ट तरिकाले व्यवस्थित गरेको छ । खेलको सुरुआत जुन ८ र ९, २०३० मा दक्षिण अमेरिकामा हुने शतवार्षिकी समारोह र उद्घघाटन खेलहरूबाट हुनेछ ।
त्यसपछि टोलीहरूलाई अन्तरमहादेशीय यात्राको पर्याप्त समय दिँदै जुन १३ र १४ मा मुख्य आयोजक राष्ट्रहरू स्पेन, पोर्चुगल र मोरोक्कोमा आधिकारिक उद्घघाटन समारोह र खेलहरू सञ्चालन हुनेछन् ।

दक्षिण अमेरिकामा खेलेका टोलीहरू युरोप र अफ्रिका पुगेपछि जुन १५ र १६ देखि बाँकी समूहका खेलहरू अघि बढ्नेछन् र यो सम्पूर्ण प्रतिस्पर्धाको अन्तिम टुंगो सन् २०३० जुलाई २१ मा हुने भव्य फाइनल खेलबाट लाग्नेछ ।

सन् २०२६ को विश्वकपमा सहभागी टोलीको संख्या बढाएर ४८ पु¥याइएकोमा फिफाले सन् २०३० को शतवार्षिकी संस्करणका लागि टोलीको संख्या ६४ पु¥याउने विषयमा गम्भीर छलफल गरिरहेको छ । यदि यो ढाँचा कार्यान्वयनमा आएमा खेलहरूको संख्यामा व्यापक वृद्धि हुनुका साथै विश्वकपको पहुँच अझ फराकिलो बन्नेछ ।

यद्यपि, टोलीको संख्या बढाउने विषयमा विभिन्न महादेशीय फुटबल महासंघहरूबीच अझै पनि तीव्र बहस जारी छ । विशाल व्यवस्थापकीय चुनौतीका बाबजुद तीन महादेशमा फैलिन लागेको २०३० को फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा स्मरणीय उत्सव बन्ने निश्चित छ ।