काठमाडौं ।
नेपाली बुद्धिचालमा लगातार सफलता पाइरहेका सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन् ।
नेपालका २०५३ रेटेड पुरुषोत्तमले २२औँ वरीयता लिदै सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्दै ६.५ अङ्क जोडेर चौथो स्थान हासिल गरेका हुन् । एशियाका बलिया युवा खेलाडीबिच भएको प्रतिस्पर्धामा उनको यो नतिजा नेपाली बुद्धिचाल इतिहासकै उल्लेखनीय उपलब्धि रहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले बताए ।
पुरुषोत्तमले २३४५ रेटिङ औसतको खेल प्रदर्शन गरि ब्यक्तिगत १३६.८ रेटिङ थप पनि गरे । प्रतिस्पर्धामा उनले पहिलो तिन खेलमा क्रमशः १७४१ रेटेड चीनका चेन सिन्सुओ, रुसका २३४९ रेटेड एफएम ईफिमोफ लियोनिद, भियतनामका २१७१ रेटेड एफएम डाङ आन मिन्हलाई पराजित गरेका थिए ।
चौथो खेलमा काजाखस्तानका २१५५ रेटेडल एफएम बोलात इनायतसँग पराजित हुदा पाचौँमा भियतनामका २२५३ रेटेड आईएम बान्ह जिया हुईलाई उनले हराए । छैटौँमा भियतनामी २३५१ रेटेड आईएम फाम ट्रान गियासँग बराबरी गरेका उनले सातौँमा हङकङका २१३९ रेटेड सीएम काओ जामिसन एड्रिच र आठौँमा चाइनाका २३६७ रेटेड चेए जियाचेनलाई हराउन सफल भए ।
अन्तिम चरणमा भियतनामका एफएम डुओङ भु आनसँग पराजित भएपछि भने पुरुषोत्तम उपाधिबाट चुकेका थिए । हारपछि उनी ६.५ अङ्कसहित टाइब्रेकको आधारमा चौथो भएका थिए ।
अन्तिम खेलमा उनलाई हराएका आनले ७.५ अङ्कका साथ उपाधि जितेका थिए । यस्तै, फिलिपिन्सका आईएम आर्का क्रिस्टियन जियान कार्लो ७ अङ्कसहित दोस्रो तथा भारतका एफएम माधवेन्द्र प्रताप शर्मा पनि ७ अङ्कसहित टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहे ।
चाइनिज चेस संघको आयोजनामा जुलाई २४ सम्पन्न स्पर्धा तीन मिनेट दुई सेकेन्ड ब्लिट्ज नौ चरण स्विस प्रणाली अनुसार प्रतिस्पर्धामा एशियाली ३२ राष्ट्रको सहभागी रहेको थियो ।











प्रतिक्रिया