कोशी प्रदेशकै उत्कृष्ट ठहरिएको अस्पतालको अवस्था दयनीय

658
Shares

उदयपुर । एक वर्षअघि कोशी प्रदेशका जिल्ला अस्पतालहरूमध्ये उत्कृष्ट अस्पतालको सम्मान प्राप्त गरेको उदयपुरस्थित प्रादेशिक जिल्ला अस्पताल यति बेला आफैँ उपचारको प्रतीक्षामा रहेको बिरामीजस्तै देखिएको छ । प्रदेश सरकारले उत्कृष्ट सेवा प्रवाहको नमुना भन्दै सम्मानित गरेको अस्पताल अहिले आधारभूत सामग्री अभाव, आर्थिक अव्यवस्था, प्रशासनिक विवाद र व्यवस्थापनको कमजोरीका कारण गम्भीर संकटमा फसेको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छैन । स्त्री तथा प्रसूति रोग, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसारोग, दन्तरोगलगायतका विशेषज्ञ सेवा उपलब्ध छन् । विभिन्न प्रकारका शल्यक्रियासमेत हुँदै आएका छन् । तर अस्पतालभित्रको अवस्था यस्तो बनेको छ कि चिकित्सकहरू स्वयं ‘डाक्टर छन् तर सेवा छैन’ भन्नुपर्ने अवस्थामा पुगेका छन् ।

५० शय्याभन्दा बढी क्षमताको अस्पतालका अधिकांश वार्ड अहिले खाली छन् । अक्सिजन आपूर्ति ठप्प छ । प्रयोगशाला सेवा बन्दप्रायः छ । एक्स–रे सेवा प्रभावकारी छैन । हेमोडायलाइसिस सेवा संकटमा छ । उपचारका लागि आवश्यक सामान्य सामग्रीसमेत अभाव भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनको तयारीमा पुगेका छन् । केही दिनअघि अस्पतालकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालको वास्तविक अवस्था सार्वजनिक गर्दै तत्काल समस्या समाधान नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

उदयपुर अस्पताललाई गतवर्ष कोशी प्रदेश सरकारले उत्कृष्ट जिल्ला अस्पतालका रूपमा सम्मान गरेको थियो । सेवा विस्तार, विशेषज्ञ चिकित्सकको उपलब्धता, बिरामीको चाप र व्यवस्थापनका आधारमा अस्पताललाई उत्कृष्ट घोषणा गरिएको थियो । तर एक वर्ष नबित्दै अस्पतालको अवस्था उल्टो दिशातर्फ गएको देखिन्छ ।

अस्पतालका चिकित्सकहरूका अनुसार समस्या चिकित्सक वा स्वास्थ्य सेवासँग सम्बन्धित नभई प्रशासनिक तथा आर्थिक व्यवस्थापनसँग जोडिएको छ । पत्रकार सम्मेलनमा बोल्दै चिकित्सकहरूले अस्पताल सञ्चालनका लागि अत्यावश्यक सामग्रीसमेत खरिद हुन नसकेको बताए । उनीहरूका अनुसार फिल्टर, साबुन, सर्फ, गज, पञ्जा, कुचोलगायतका दैनिक प्रयोगका सामग्री अभाव हुनु आफैँमा अस्पतालको संकटको संकेत हो । चिकित्सकहरूका अनुसार अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक औषधि र उपकरण व्यवस्थापनभन्दा प्रशासनिक विवाद र आर्थिक अन्योल बढी हाबी भएको छ ।

अस्पतालको सबैभन्दा गम्भीर समस्या अक्सिजन अभाव बनेको छ । सामान्यतया जिल्ला अस्पतालमा अक्सिजन सेवा अत्यावश्यक मानिन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी, सघन उपचार आवश्यक पर्ने बिरामी, आकस्मिक अवस्थामा ल्याइएका घाइते तथा शल्यक्रियापछिका बिरामीका लागि अक्सिजन अनिवार्य सेवा हो । तर उदयपुर अस्पतालमा केही सातादेखि अक्सिजनको आपूर्ति अवरुद्ध भएको चिकित्सकहरूले बताएका छन् ।

पत्रकार सम्मेलनमा डा. कृष्णकुमार यादवले भने, ‘अस्पतालमा अक्सिजनजस्तो आधारभूत सेवा नै उपलब्ध छैन भने बिरामीको उपचार कसरी गर्ने ? अहिले हामीले बिरामीलाई आवश्यक सेवा दिन नसक्ने अवस्था सिर्जना भएको छ ।’ उनका अनुसार अक्सिजन अभावले चिकित्सकहरूलाई समेत मानसिक दबाबमा राखेको छ । कुनै पनि बेला जटिल बिरामी आए उपचार गर्न कठिन हुने अवस्था बनेको छ । अस्पतालको प्रयोगशाला सेवा पनि लगभग ठप्प अवस्थामा पुगेको छ । सामान्य दिसापिसाब परीक्षण, रगत परीक्षण तथा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) जस्ता आधारभूत परीक्षणसमेत नियमित हुन सकेका छैनन् । यसका कारण अस्पताल आएका बिरामीहरू निजी प्रयोगशालामा परीक्षण गराउन बाध्य भएका छन् । यसले एकातिर बिरामीको आर्थिक भार बढाएको छ भने अर्कोतर्फ सरकारी अस्पतालप्रतिको विश्वाससमेत कमजोर बनाएको छ ।

चिकित्सकहरूका अनुसार प्रयोगशाला सेवा प्रभावकारी नहुँदा रोगको पहिचान र उपचार प्रक्रियासमेत प्रभावित बनेको छ । अस्पतालमा दुईवटा एक्स–रे प्रिन्टर हुँदाहुँदै थप नयाँ प्रिन्टर खरिद गरिएको विषयले पनि विवाद निम्त्याएको छ । चिकित्सकहरूको भनाइमा आवश्यकता मूल्यांकन नगरी गरिएका खरिद निर्णयले अस्पतालको सीमित स्रोतको दुरुपयोग भएको छ । हाल एक्से रे सेवा पनि बन्द छ । उनीहरूका अनुसार आवश्यक सामग्री खरिदका लागि बजेट अभाव देखाइँदा अनावश्यक क्षेत्रमा खर्च गरिएको छ, जसले अस्पताल सञ्चालन झन् कठिन बनाएको छ ।

उदयपुर अस्पतालमा सञ्चालित हेमोडायलाइसिस सेवा पूर्वी नेपालका विभिन्न जिल्लाका बिरामीका लागि महत्वपूर्ण मानिन्छ । उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर तथा सिराहाका कतिपय बिरामीले नियमित रूपमा यही अस्पतालबाट सेवा लिँदै आएका छन् । तर आवश्यक सामग्री तथा व्यवस्थापन अभावका कारण हेमोडायलाइसिस सेवा पनि प्रभावित भएको चिकित्सकहरूले बताएका छन् ।
मिर्गौला रोगीका लागि हप्तामा दुई वा तीनपटक नियमित डायलाइसिस आवश्यक पर्ने भएकाले सेवा अवरुद्ध हुँदा बिरामीको जीवन नै जोखिममा पर्न सक्छ ।

स्वास्थ्य सेवा संकटसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल पनि कमजोर बनेको छ । विशेषज्ञ चिकित्सकहरूले विगत ६ महिनादेखि प्रोत्साहन भत्ता नपाएको बताएका छन् । मेडिकल अधिकृतहरूले चार महिनादेखि अतिरिक्त भत्ता पाएका छैनन् । चालू आर्थिक वर्षको खाजा भत्तासमेत वितरण हुन सकेको छैन । ज्यालादारी कर्मचारीहरूले पोशाक भत्ता नपाएको गुनासो गरेका छन् । चिकित्सकहरूका अनुसार उनीहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको कारण अन्ततः सार्वजनिक रूपमा बोल्न बाध्य भएका हुन् ।

अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालको लेखा तथा प्रशासनिक संयन्त्रलाई समस्याको प्रमुख कारणका रूपमा औँल्याएका छन् । उनीहरूका अनुसार अस्पताल विकास तथा व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयन नगर्ने, कार्यालय प्रमुखका निर्देशन बेवास्ता गर्ने तथा अस्पताल सञ्चालनसँग सम्बन्धित काममा अनावश्यक अवरोध सिर्जना गर्ने प्रवृत्तिले समस्या झन् गहिरिएको छ । चिकित्सकहरूले अस्पतालको आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठाएका छन् । उनीहरूको भनाइमा अस्पतालसँग आवश्यक औषधि, उपकरण तथा उपचार सामग्री खरिदका लागि बजेट अभाव रहेको भनिए पनि वास्तविक आय–व्यय विवरण सार्वजनिक गरिएको छैन । विभिन्न शीर्षकमा प्राप्त बजेट समयमै खर्च हुन नसक्दा अस्पताल सञ्चालनमै असर पुगेको दाबी उनीहरूको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुकेश झाले अस्पतालभित्र समस्या रहेको स्वीकार गरेका छन् । उनका अनुसार अस्पतालमा पर्याप्त विशेषज्ञ चिकित्सक भए पनि आवश्यक सामग्री र व्यवस्थापन अभावका कारण सेवा प्रवाह प्रभावित भएको हो । उनले भने, ‘हामीसँग सेवा दिने जनशक्ति छ । विशेषज्ञ चिकित्सक छन् । तर अस्पतालभित्रका समस्याका कारण सेवा दिन सक्ने अवस्था छैन । अहिले अधिकांश वार्ड खाली छन् । ल्याब सेवा बन्द छ । सामान्य उपकरण अभावमा समेत सेवा दिन सकिएको छैन ।’ उनका अनुसार अस्पतालमा समस्या समाधान गर्न पटक–पटक प्रयास गरिए पनि अपेक्षित परिणाम आउन सकेको छैन ।

हाडजोर्नी विशेषज्ञ डा. रुपेश केसीले सरकारी अस्पतालमा देखिने कमजोरीका लागि सधैँ चिकित्सकलाई दोष दिने गरिएको बताए । तर उदयपुर अस्पतालको वर्तमान अवस्था भने चिकित्सकको लापरबाहीका कारण नभई व्यवस्थापनको असफलताले सिर्जना भएको उनको भनाइ छ । ‘चिकित्सक अस्पतालमा उपस्थित छन्, बिरामी हेर्न तयार छन् । तर आवश्यक उपकरण, सामग्री र व्यवस्थापन नहुँदा सेवा दिन कठिन भएको छ’ उनले भने ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले अस्पताल प्रशासन, लेखा शाखा र चिकित्सकबीच समन्वय अभावका कारण समस्या जटिल बनेको स्वीकार गरेका छन् । उनले विवाद समाधानका लागि पहल भइरहेको बताए ।
तर चिकित्सकहरू भने ठोस निर्णय र कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताउँछन् । उदयपुर अस्पताल उदयपुर जिल्लामात्र नभई आसपासका पहाडी तथा तराई जिल्लाका नागरिकका लागि पनि प्रमुख सरकारी स्वास्थ्य संस्था हो ।

यदि अहिले देखिएको विवाद र संकट समयमै समाधान हुन सकेन भने आकस्मिक सेवाबाहेक अन्य अधिकांश सेवा बन्द हुने खतरा रहेको चिकित्सकहरूको चेतावनी छ । हजारौँ नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्नेछ । एक वर्षअघि उत्कृष्टताको सम्मान पाएको अस्पताल आज आफ्नै अस्तित्व जोगाउने संघर्षमा छ । प्रश्न यति मात्र हो– प्रदेश सरकार र सम्बन्धित निकायले यो संकट समाधान गर्न कति चाँडो कदम चाल्छन् ? यदि ढिलाइ भयो भने यसको मूल्य बिरामीहरूले आफ्नो स्वास्थ्य र जीवनबाट चुकाउनुपर्नेछ ।