खोटाङ ।
साउन–१०, मध्येपहाडी लोकमार्गमा पर्ने जयराम–हलेसी ३५ किलोमिटर सडकखण्ड मर्मतको लागि ठेक्का खुलाईएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पर्ने उक्त सडकखण्ड मर्मत सम्भारका लागि पुष्पलाल मध्येपहाडी राजमार्ग योजना कार्यालय रामेछापले ठेक्का खुलाएको हो ।
सामान्य स्तरोन्नती गरेर सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगालाई हस्तान्तरण गर्नेगरी हालै सडक मर्मतको ठेक्का खुलाईएको हो । हाललाई सडकको खाल्डाखुल्डी पुर्ने, सम्याउने, प्याचअप गरेर मर्मत तथा सुधारको काम गर्ने राजमार्ग योजना कार्यालय रामेछापका सुचना अधिकारी ईन्जिनियर भरत श्रेष्ठले बताउनुभयो ।
मध्येपहाडी राजमार्गको एलाईटमेण्टमा पर्ने सडकखण्डलाई मापदण्ड अनुसार चौडा गर्न ढिलासुस्ती भईरहेको छ । मध्येपहाडी लोकमार्गमा अन्य खण्डको सडक कम्तीमा ९ मिटर भए पनि जयराम–हलेसीको चौडाई भने बढीमा ५ मिटर मात्र रहेको छ । सो सडकखण्डलाई मध्येपहाडी लोकमार्गको मापदण्ड अनुसार स्तरोन्नती नगरी पटक–पटक टालटुल मात्र गर्ने गरिएको छ ।
सडक डिभिजन कार्यालयले जिम्मा लिएपछि मात्र उक्त सडकखण्ड फराकिलो बनाउने प्रक्रिया अघि बढ्ने योजना कार्यालयका ईन्जिनियर भरत श्रेष्ठले स्पष्ट पार्नुभयो ।
जयराम–हलेसी सडक खोटाङ र काठमाण्डौं लगायतका शहर आवत–जावत गर्ने प्रमुख मार्ग हो । सो सडक साँघुरो र जिर्ण हुँदा बिशेषगरी हलेसी आवत–जावत गर्ने दर्शनार्थीलाई मार पर्ने गरेको छ । जयराम–हलेसी सडक मापदण्ड अनुरुप नहुँदा खोटाङ, भोजपुर लगायतका जिल्लाका आर्थिक गतिबिधिमा समेत असर परेको छ ।
उक्त सडकमा २०६५ देखि २०६७ सालका बीचमा ओटासिल पिच गरिएको थियो ।
सडक मर्मतको ठेक्काले केही राहत मिलेको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख बिमला राईको भनाई छ ।।











प्रतिक्रिया