काठमाडौ ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा चिकित्सकमाथि भएको निर्घात कुटपिट घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाएको छ। मरणासन्न हुने गरी कुटिएका मेडिकल अफिसर डा. प्रमोद रामसमेत जिम्मेवारीबाट हटाइएका छन्।
शनिबार बिहान भएको घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह तथा सरोकारवालाको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले छानबिन समितिको प्रतिवेदन नआउन्जेल उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कामकाजमा नलगाउने निर्णय गरेको हो। समितिको सिफारिसका आधारमा थप प्रक्रिया अघि बढाइने निर्णय पनि बैठकले गरेको छ।

निर्णयअनुसार डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रल्हाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई तत्काल लागू हुने गरी जिम्मेवारीबाट हटाइएको छ।
घटनामा आक्रोशित भीडले निर्घात कुटपिट गरेपछि गम्भीर घाइते भएका डा. प्रमोद रामको अहिले नारायणी अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
यसैबीच घटनाको सत्यतथ्य छानबिन गर्न अस्पतालले ६ सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनीलकुमार रौनियार रहेका छन्।
तर समितिमा सदस्य तोकिएका डा. निरजकुमार सिंहले आफूलाई कुनै जानकारी वा सहमति नलिई समितिमा राखिएको बताएका छन्। उनले चिकित्सकहरूको बैठकपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने उल्लेख गर्दै स्थानीय तहबाट हुने छानबिन पर्याप्त नहुने र घटनाको निष्पक्ष अनुसन्धान नेपाल मेडिकल काउन्सिलमार्फत हुनुपर्ने धारणा व्यक्त गरे।
शनिबार बिहान आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयको समूहले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण गरेको थियो। उक्त घटनाले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीबीच सुरक्षा र कार्यस्थलको वातावरणबारे गम्भीर चिन्ता बढाएको छ।











प्रतिक्रिया