लुटिएका सम्पदा फिर्ता ल्याउन राज्यको नयाँ रणनीति

0
Shares

–विदेश पुगेका ऐतिहासिक मूर्ति, शिलालेख र पुरातात्विक सामग्री फिर्ता ल्याउने प्रक्रिया संस्थागत हुँदै
–प्रमाण संकलनदेखि कूटनीतिक पहल, इन्टरपोल समन्वय र पुनःस्थापनासम्मको व्यवस्था कार्यविधिमा
–हालसम्म २०३ सम्पदा नेपाल फर्किइए
–बेलायत, अमेरिका, फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रेलिया र चीनबाट थप सम्पदा ल्याउने पहल जारी

काठमाडौँ ।

पुरातत्व विभागले नेपालबाट चोरी भई विदेश पुगेका ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्ति फिर्ता ल्याउनेसम्बन्धी कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यविधिको मस्यौदा तयार गरी सम्बन्धित निकाय र सरोकारवालासँग परामर्शको प्रक्रिया अघि बढाएको विभागले जनाएको छ । चार दशकअघि नेपालका मन्दिर, विहार, चैत्य, देवालय तथा सार्वजनिक स्थलबाट चोरी भएका सयौँ ऐतिहासिक मूर्ति, शिलालेख, तोरण, काष्ठकला र अन्य पुरातात्विक सामग्री विभिन्न देशका सँग्रहालय, निजी संकलक तथा अन्तर्राष्ट्रिय कला बजारमा पुगेका छन् ।

पुरातत्व विभागका अनुसार सन् १९५० तिर नेपालमा मूर्तिहरू हराउने, चोरी हुने क्रम बढेको थियो । सन् १९८६ तिर भारतबाट १३ थान मूर्ति फिर्ता ल्याएसँगै नेपालमा मूर्ति फिर्ता ल्याउने क्रम सुरु भएको थियो । स्पष्ट कार्यविधिको अभावमा मूर्ति फिर्ता ल्याउने प्रक्रिया जटिल र वर्षौँवर्षसम्म लाग्ने गरेको जिकिर गर्दै महानिर्देशक सौभाग्य प्रधानाङ्गले भन्नुभयो– ‘विभिन्न देशबाट मूर्ति ल्याउनका लागि प्रमाण संकलन, प्रशासनिक प्रक्रिया, कूटनीतिक पहल र कानुनी प्रक्रिया वर्र्षौँवर्ष लाग्ने गरेको छ ।

यस कार्यलाई व्यवस्थित बनाउन कार्यविधि बनाउने कार्य भइरहेको हो ।’ उहाँका अनुसार कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भई हाल सरोकारवालाहरूको सुझाव लिने क्रम चलिरहेको छ ।

कार्यविधिमा मूर्ति फिर्ता ल्याउने सम्पूर्ण प्रक्रियाहरू समेटएको छ । विभागका अनुसार कार्यविधिले चोरी भएका सम्पदाको प्रमाण संकलन र त्यसको दाबी प्रस्तु्त गर्ने,सम्बन्धित देशसँग समन्वय,सम्पदा नेपाल ल्याउने प्रक्रिया र त्यसपछि संरक्षण तथा पुनःस्थापनासम्मका विषयलाई स्पष्ट रूपमा व्यवस्थित गर्नेछ । कार्यविधिअनुसार चोरी भएका सम्पदाको राष्ट्रिय अभिलेख तयार गरिने, उपलब्ध फोटो, ऐतिहासिक विवरण, अभिलेख तथा प्रमाण संकलन गरिने, विदेशमा रहेका सम्पदाको पहिचान तथा प्रमाणीकरण गरिने व्यवस्था रहने विभागको तयारी छ । त्यसैगरी परराष्ट्र मन्त्रालयम मार्फत सम्बन्धित देशका सरकार, सँग्रहालय तथा अन्य निकायसँग कूटनीतिक पहल गर्ने, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) लगायतका अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्ने तथा दाबी प्रस्तुत गर्ने प्रक्रिया पनि कार्यविधिमा समेटिनेछ ।

विभागका अधिकारीहरूका अनुसार सम्पदा नेपाल फिर्ता आएपछि त्यसको संरक्षण, अभिलेखीकरण, अध्ययन तथा सम्बन्धित मन्दिर, विहार वा समुदायमा पुनःस्थापनाको प्रक्रिया पनि कार्यविधिले स्पष्ट गर्नेछ । यसले सम्पदा फिर्ता ल्याउने कार्यसँगै मानिसहरूको श्रद्धा, आस्था, त्यसको मूल्य र मान्यता अनुरुप पुनःस्थापना गर्ने पक्षप्रति संवेदनशीलता अपनाइएको छ ।अभियन्ता, सम्पदा विज्ञहरूका अनुसार नेपालसँग चोरी भएका सम्पदाको एकीकृत अभिलेख, प्रमाण व्यवस्थापन र निकायगत जिम्मेवारी स्पष्ट नहुँदा विदेशी संग्रहालय वा निजी संकलकसँग दाबी प्रस्तुत गर्न कठिन हुने गरेको छ ।

नेपालले सांस्कृतिक सम्पदाको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरण रोक्नेसम्बन्धी युनेस्कोको सन् १९७० को महासन्धि, आएलओको महासन्धि १६९, संविधानको धारा २६ धार्मिक स्वतन्त्रतासम्बन्धी हक, धारा ३२ को भाषा संस्कृतिसम्बन्धी हक र प्राचीन स्मारक संरक्षणसम्बन्धी ऐन २०१३ अनुसार पनि मूर्तिहरू फिर्ता ल्याउने कामहरू गर्दै आएको छ । कार्यविधिले ती कानुनी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न सहयोग पुग्ने सम्पदा विज्ञ भीम नेपालले बताउनुभयो ।

पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय सहकार्य, सम्पदा अभियन्ता, अनुसन्धानकर्ता तथा स्थानीय समुदायको सक्रियताका कारण विभिन्न देशबाट लिच्छविकालीन र मल्लकालीन मूर्ति, देवदेवीका प्रतिमा तथा अन्य सांस्कृतिक सम्पदा नेपाल फर्किएका छन् । विभिन्न देशबाट हालसम्म २ सय ३ वटा पुरातात्विक तथा कलात्मक वस्तु नेपालमा फिर्ता भइसकेका छन् । तीमध्ये अमेरिकाबाट मात्रै फिर्ता भएका वस्तुको संख्या १ सय २७ पुगेको छ । ती अनुभवलाई संस्थागत गर्दै भविष्यमा अझ प्रभावकारी रूपमा सम्पदा फिर्ता ल्याउने आधार तयार गर्न कार्यविधि महत्वपूर्ण हुने यस कार्यमा संलग्न विभागका अधिकारीहरू बताउँछन् ।

हाल विभागले बेलायतबाट उमामहेश्वरी र कलात्मक वस्तु, फ्रान्सबाट पञ्चमुखी हनुमान, चामुण्डा, स्वीजरल्याण्ड उमामहेश्वर, शिव लिंग, अमेरिकाबाट तलेजु, अष्ट्रेलियाबाट वासुदेव, सिंगापुर गणेश लगायत मूर्ति र चीनबाट बुद्धको मूर्ति फिर्ता ल्याउन पहल गरिरहेको छ । सम्पदा फिर्ता ल्याउने प्रक्रिया दुई देशबीचको कूटनीतिक सम्बन्धसँग जोडिएको विषय भएकाले थप चुनौतीपूर्ण रहेको परराष्ट्र मन्त्रालयका सहसचिव विष्णुप्रसाद गौतमको कथन छ । विभिन्न देशबाट मूर्ति फिर्ता ल्याउन विभिन्न देशको फरक फरक कानुनले गर्दा पनि जटिल हुने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘कानुनी रूपमा अदालत जाँदा दुई देशबीचको सम्बन्धमा नराम्रो असर पर्नसक्छ । त्यसैले दुई देशको सम्बन्धमा खलल नपुग्ने गरी चोरी भएका मूर्ति फिर्ता ल्याउनुपर्ने नरम तरिकाले कुराकानी गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि प्रमाण बलियो हुनुपर्दछ ।’

उहाँका अनुसार यस कार्यमा कूटनीतिक प्रक्रिया लामो हुने, बजेट नहुँदा थप कठिन गरेको छ । १६औँ शताब्दीको नृत्यदेवीको मूर्ति र पद्यपाणि लोकेश्वरको मूर्ति पनि अमेरिकाबाट हालै नेपाल फिर्ता ल्याउन अमेरिकाको न्यूयोर्कस्थित नेवाः गुथिले आर्थिक सहयोग गरेको थियो । विभागले यी सबै अनुभवको आधारमा कार्यविधि तयार गरेको जनाउँदै सरोकारवालाको सुझावपछि त्यसलाई अन्तिम रूप दिने महानिर्देशक प्रधानाङ्गले बताउनुभयो ।