सेभेनअपमा बाह्य पदार्थ भेटिएपछि उत्पादन र बिक्रीमा रोक


–बरुण वेभरेज फेरि विवादमा ः विभागको कडा कारबाही
–पेप्सी–माउन्टेन डिउदेखि अपार्टमेन्ट परियोजनासम्म उठ्यो नयाँ प्रश्न

काठमाडौँ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सेभेनअपको सिलबन्दी बोतलभित्र बाह्य पदार्थ भेटिएको उजुरीपछि बरुण वेभरेज नेपाल प्रालिले उत्पादन गर्ने सेभेनअपको उत्पादन तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको छ ।

विभागले उद्योगमा आकस्मिक अनुगमन गरी शङ्कास्पद ब्याचको नमुना सङ्कलन गर्दै अर्को आदेश नभएसम्म उत्पादन र बजार वितरण रोक्न निर्देशन दिएको हो । यो कारबाहीसँगै यसअघि पनि पेप्सी र माउन्टेन डिउमा कीरा तथा अन्य बाह्य पदार्थ भेटिएको विवादमा परेको कम्पनी फेरि उपभोक्ता सुरक्षा, गुणस्तर नियन्त्रण र संस्थागत जवाफदेहिताको केन्द्रमा पुगेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विभागमा परेको उजुरीमा उत्पादन मिति १६–०४–२०२६ तथा ब्याच नम्बर बी००६ भएको सेभेनअपको सिलबन्दी बोतलभित्र बाह्य पदार्थ भेटिएको उल्लेख गरिएको थियो । उजुरी प्राप्त हुनासाथ विभागले ‘¥यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोलीसहित काठमाडौँको पेप्सीकोलास्थित उद्योगमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगभित्र सोही ब्याचका दुईवटा कन्ट्रोल नमुना बोतल फेला परेको विभागले जनाएको छ । टोलीले उत्पादन प्रक्रिया, प्रयोग हुने उपकरण, बोतल धुने प्रणाली तथा गुणस्तर परीक्षणका सबै चरणको निरीक्षण गरेको थियो ।

विभागका अनुसार उद्योगमा २५० मिलिलिटरको सिसाको बोतलमा सेभेनअप उत्पादन हुँदै आएको छ । निरीक्षणका क्रममा बोतल धुने सात चरणको प्रणाली, बोतल भर्नुअघि चार चरणको लाइट चेकिङ सिस्टम, त्यसपछि मेटल डिटेक्टर र अन्तिममा लाइट इन्स्पेक्सन प्रणाली रहेको पाइएको छ । यद्यपि, निरीक्षणका क्रममा उत्पादन कक्ष र गोदाममा रहेका अन्य बोतलमा भने कुनै बाह्य पदार्थ नभेटिएको विभागले जनाएको छ ।

यद्यपि, उजुरीलाई गम्भीर रूपमा लिँदै विभागले सम्बन्धित ब्याच नम्बर बी००६ का नमुना परीक्षणका लागि सङ्कलन गरेको छ । साथै अर्को आदेश नभएसम्म उक्त ब्याचको बिक्री–वितरण रोक्नुका साथै सेभेनअपको उत्पादनसमेत स्थगित गर्न उद्योगलाई निर्देशन दिइएको छ । विभागले रोकिएको उत्पादन र बजार व्यवस्थापनबारे लिखित विवरण पेश गर्न पनि उद्योगलाई निर्देशन दिएको छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार यो कारबाही खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको हो । प्रयोगशाला परीक्षणको अन्तिम प्रतिवेदन आएपछि थप कानुनी कारबाही, उत्पादन पुनः सञ्चालन वा अन्य आवश्यक निर्णय गरिने विभागले जनाएको छ ।

सेभेनअपमा बाह्य पदार्थ भेटिएको घटना बरुण वेभरेजका लागि पहिलो विवाद भने होइन । यसअघि पनि कम्पनीले उत्पादन गर्ने पेप्सी र माउन्टेन डिउका बोतलमा किरा तथा अन्य बाह्य पदार्थ भेटिएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो । ती घटनापछि पनि कम्पनीको उत्पादन प्रक्रिया र गुणस्तर व्यवस्थापन प्रणालीमाथि प्रश्न उठेको थियो ।

अब फेरि अर्को उत्पादनमा यस्तै प्रकृतिको उजुरी आएपछि उपभोक्ता तथा उपभोक्ता अधिकारकर्मीले यसलाई सामान्य प्राविधिक त्रुटि मात्रै नभई उत्पादन प्रक्रियामा रहेका सम्भावित कमजोरीको संकेतका रूपमा हेर्न थालेका छन् ।

उपभोक्ता अधिकारकर्मीका अनुसार कुनै उद्योगमा कहिलेकाहीँ प्राविधिक त्रुटि हुन सक्ने भए पनि एउटै कम्पनीका फरक–फरक उत्पादनमा पटक–पटक यस्ता गुनासा आउनु गम्भीर विषय हो । यसले कम्पनीको आन्तरिक गुणस्तर नियन्त्रण प्रणाली, उत्पादन लाइनको सरसफाइ, निरीक्षण संयन्त्र र व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाउने उनीहरूको भनाइ छ ।

उनीहरूका अनुसार अब केवल एउटा बोतलको परीक्षण गरेर मात्रै पुग्दैन । सम्बन्धित उत्पादन लाइनको विस्तृत अडिट, उत्पादन प्रक्रियाको स्वतन्त्र मूल्यांकन तथा बजारमा रहेका सोही ब्याचका सबै उत्पादनको परीक्षण आवश्यक छ ।

बरुण समूहको अर्को विवाद ः पार्क भ्यु होराइजन अपार्टमेन्ट
बरुण समूहसँग सम्बन्धित वरुण डेभलपर्सले निर्माण गरेको पार्क भ्यु होराइजन अपार्टमेन्ट पनि लामो समयदेखि विवादको विषय बन्दै आएको छ ।
काठमाडौँको धापासीस्थित १७ तले पाँच टावर रहेको उक्त अपार्टमेन्ट २०७२ सालको विनाशकारी भूकम्पपछि सबैभन्दा बढी क्षति पुगेका आवासीय परियोजनामध्ये एक मानिएको थियो । प्रारम्भिक सरकारी प्राविधिक निरीक्षणपछि भवनलाई ‘रेड स्टिकर’ दिइएको थियो, जसले भवन तत्काल बस्न अयोग्य रहेको सङ्केत गरेको थियो ।

भूकम्पअघि सयौँ परिवार बसोबास गरिरहेको उक्त परियोजनामा घर खरिद गरेका धेरै व्यक्तिहरू आजसम्म पनि आफ्नै अपार्टमेन्टमा बस्न नपाएको गुनासो गर्दै आएका छन् । विस्तृत प्राविधिक अध्ययन, रेट्रोफिटिङ, कानुनी विवाद तथा प्रशासनिक प्रक्रियाका कारण परियोजना पूर्ण रूपमा सञ्चालनमा फर्किन सकेको छैन ।

धेरै खरिदकर्ताले बैंक ऋणको किस्ता तिरिरहे पनि आफ्नो सम्पत्तिको उपयोग गर्न नपाएको र लगानीको भविष्य अझै अन्योलमा रहेको बताउँदै आएका छन् । उनीहरूले सम्बन्धित निकाय र डेभलपर कम्पनीले स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने मागसमेत गर्दै आएका छन् ।
उनीहरूका अनुसार एउटै कम्पनीका उत्पादनमा पटक–पटक गुणस्तरसम्बन्धी विवाद दोहोरिनु र अर्कोतर्फ सोही व्यावसायिक समूहसँग सम्बन्धित अपार्टमेन्ट परियोजना एक दशकसम्म विवादमै रहनुले संस्थागत सुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

यद्यपि, सेभेनअपको बोतलमा भेटिएको बाह्य पदार्थको प्रकृति, त्यसको कारण तथा उत्पादन प्रक्रियामा भएको सम्भावित त्रुटिबारे अन्तिम निष्कर्ष भने प्रयोगशाला परीक्षणपछि मात्रै स्पष्ट हुनेछ । त्यसैले नियामक निकायको वैज्ञानिक परीक्षण र आधिकारिक प्रतिवेदन नै यस घटनाको निर्णायक आधार हुनेछ । अहिलेका लागि विभागले उत्पादन तथा बिक्रीमा लगाएको रोकलाई उपभोक्ता सुरक्षाका लागि अपनाइएको सावधानीपूर्ण कदमका रूपमा हेरिएको छ ।