सर्पदंशबाट बालकको मृत्यु, सिरहाको भगवानपुरमा तनाव


सिरहा ।

सर्पदंशबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको र एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।

भगवानपुर गाउँपालिका–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डलको मृत्यु भएको हो । स्थानीयले समयमै थप उपचारका लागि रिफर नगरिएको र एम्बुलेन्स सञ्चालनमा ढिलाइ भएको आरोप लगाएका छन् ।

आफन्तका अनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्षको अनुमति आवश्यक रहेको बताएपछि उपचार प्रक्रिया ढिलो भएको थियो । घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा क्षति पुर्‍याउँदै हुलाकी सडकमा टायर र दाउरा बालेर यातायात अवरुद्ध गरेका छन् ।

गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि उनी उपस्थित नभएपछि आन्दोलन थप चर्किएको स्थानीयले बताएका छन् । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।