तेस्रो दिनमा डा. गोविन्द केसीको स्वास्थ्य थप कमजोर, ब्लड सुगर ५० मा झर्‍यो


काठमाडौं ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको २४औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गर्दा उनको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको छ। डा. केसीको उपचारमा संलग्न चिकित्सक डा. अमृत जैशीका अनुसार शुक्रबार राति ५६ एमजी/डीएल रहेको ब्लड सुगर शनिबार बिहान ६ बजे गरिएको परीक्षणमा घटेर ५० एमजी/डीएलमा पुगेको छ। साथै, उनको रक्तचापमा पनि उतारचढाव (फ्लक्चुएसन) देखिएको चिकित्सकहरूले बताएका छन्।

डा. जैशीका अनुसार डा. केसीलाई मांसपेशी बाउँडिने, बोल्न असहज हुने तथा केही समयअघि खुट्टाको शल्यक्रिया गरिएकाले शौचालय जानसमेत कठिनाइ भइरहेको छ। उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानीका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. गजेन्द्र दुवालको नेतृत्वमा मेडिकल टोलीले नियमित परीक्षण र उपचार गरिरहेको छ। यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ ५ बजे डा. जैशीसँग र राति ११ बजे डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेका थिए।

संवादका क्रममा डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गरी गेटामा ३०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालन गर्नेलगायत आफ्ना प्रमुख माग पुनः स्पष्ट रूपमा राखेका थिए। उनले ती माग सम्बोधन गर्ने ठोस गृहकार्यसहित मात्र वार्तामा आउन सरकारलाई आग्रह गरेको डा. जैशीले जानकारी दिए।