किसानहरुकालागि युरिया मल ‘लगन पछिको पोते’ बन्दै

नाकामा मल आइपुग्न झण्डै १० दिन लाग्ने, किसानकोमा मल पुग्दा सिजन नै सकिने

846
Shares

धनगढी ।

सुदूरपश्चिममा यतिबेला रासायनिक मलको अभावमा किसानहरु संकटमा देखिएकाछन । यहि समयमा धानकालागि युरिया मल अत्यावश्यक थियो तर मल नै नपाएपछि किसानहरु चिन्तित भएकाछन । खेतमा मल आवश्यक भएको बेला मल नपाएपछि समय घर्केर मल पाउनु भनेको लगनपछिको पोते जस्तै हुने किसानहरुको भनाई छ । युरिया मल आजभोलीनै खेतमा हाल्न सकिएन भने हप्ता दश दिनपछि मल हाल्नुको कुनै अर्थ नहुने किसानहरुको भनाई छ ।

रासायनिक मल करीब ९–१० दिनपछि मात्रै भैरहवा नाकामा आइपुग्ने खबरले किसानहरूलाई झन् निराश बनाएको छ । नाकामा आइपुगेर पनि प्रशासनिक प्रक्रिया, जाँच र गाउँका डिपो हुँदै किसानको हातमा पुग्न अझै १५ देखि २० दिन लाग्न सक्ने भएकाले समय सकिएपछि आउने मलको कुनै काम नहुने किसानहरुले बताएका छन् । उनीहरूका अनुसार यो सिजनमा ढिलो गरी मल पाउनु भनेको किसानका लागि ‘लगन पछिको पोते’ जस्तै हो टीकापुरका किसान केशव कुँवरले बताए ।

मल नपाउँदा कैलाली र कञ्चनपुरका गाउँ–गाउँका किसानहरू यतिबेला निकै चिन्तित बनेका छन् । धनगढीका किसान रामबहादुर चौधरीले धान आजभोलि नै युरिया हाल्न नपाए गाँज नलाग्ने र फल राम्रो नदिने गुनासो गरे । उनले १०–१५ दिनपछि मल आयो भने पनि त्यसको कुनै अर्थ नरहने र त्यतिबेला मल हाल्नु र नहाल्नुको केही फाइदा नहुने बताए । यस्तै, गोदावरीकी किसान सीता देवी जैसीले मल आउँछ भन्दाभन्दै धान पहेंलो भइसकेको र सरकारले ९–१० दिनपछि बोर्डरमा आउँछ भनिए पनि गाउँ आइपुग्दा भदौ लाग्ने गुनासो गरिन् । उनले यसपालि धान उत्पादन आधा घट्ने चिन्ता व्यक्त गरेकी छन् । बेलौरीका किसान मङ्गल थारुले अहिलेको समयमा मल नहाले उत्पादनमा भारी ह्रास आउने र पछि मल आएर किसानलाई ’हर्ष न बिस्मात’ हुने बताए।

किसानहरू दिनहुँ मल माग्दै पालिकाका कार्यालयहरू धाइरहेका छन्, तर स्थानीय जनप्रतिनिधिहरू पनि केन्द्र सरकारको फितलो व्यवस्थापनका कारण निरही र आक्रोशित बनेका छन्। भजनी नगरपालिका कैलालीका नगर प्रमुख केवल चौधरीले किसानहरू दिनहुँ पालिकामा आएर मलको ब्यवस्थापन गरिदिन आग्रह गर्ने गरेको बताए । उनले पालिकासँग मल किनेर दिने न बजेट न त अधिकार नै भएको उल्लेख गर्दै केन्द्रको मुख ताक्नुपर्ने बाध्यता रहेको बताए । धान खेतले अहिले नै मल मागिरहेको अवस्थामा १०–१५ दिनपछि मल आउनु भनेको तिर्खा लागेर मान्छे मरिसकेपछि पानी दिनु जस्तै भएको नगर प्रमुख चौधरीको भनाइ छ ।

यसैगरी जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले बोर्डरमा मल आउनै १० दिन लाग्ने र त्यो मल किसानको खेतसम्म आइपुग्दा सिजन नै सकिने बताए । उनले अहिले आवश्यकता भएका बेला मल दिन नसक्ने सरकारको लाचारीले गर्दा यो वर्ष सुदूरपश्चिममा खाद्य संकट आउने खतरा बढेको र ढिलो आएको मलको किसानका लागि कुनै अर्थ नरहेको दाबी गरे।

कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वासका किसानहरू मल नपाएर भौंतारिरहेको र माथिल्लो निकायमा बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । उनले यो सिजनमा मल नहाले उत्पादनमा ठूलो ह्रास आउने भन्दै पछि आउने मलले किसानको आँसु पुछ्न नसक्ने स्पष्ट पारे। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले पनि कृषि प्रधान देश भन्नु मात्रै भएको भन्दै किसानलाई संकट पर्दा राज्य कतै नदेखिएको आरोप लगाए ।

मल आपूर्तिको जिम्मा पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुखहरू भने आपूर्तिमा समस्या रहेको स्वीकार्छन्। कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवल बोगटीले ग्लोबल टेन्डर र ढुवानीको प्रक्रियाका कारण केही ढिलाइ भएको स्वीकार गरे। उनले भैरहवा नाकामा नयाँ मल आइपुग्न अझै ९ देखि १० दिन लाग्ने रिपोर्ट आएको जानकारी दिँदै त्यहाँ आइपुगेपछि प्राथमिकताका साथ सुदूरपश्चिमका लागि कोटा छुट्याएर ढुवानी गरिने बताए ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिमका प्रमुख तेज कुँवरले मल अभावका कारण यतिबेला किसानहरू ठूलो समस्यामा परेको बताए । उनले आफूहरूसँग भएको मौज्दात सकिएको र नयाँ लट आउन समय लाग्ने देखिएकाले किसानहरूको माग अनुसार युरिया मल दिन नसकिरहेको स्पष्ट पारे। प्रमुख कुँवरले आपूर्ति सहज बनाउन माथिल्लो निकायसँग लगातार समन्वय गरिरहेको जानकारी दिए।