दूर्लभ पंक्षी सारसकाे अचम्मकाे स्वभाव,नाँचगान गरेर वंशवृद्धिमा सरिक

उद्योग हातामा अण्डा काेरल्दै, दूर्लभ पंक्षी सारस

0
Shares

नवलपरासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १६ हकुई स्थित एक उद्योग हातामा दूर्लभ पंक्षी सारसले अण्डा काेरल्दै गरेकाे पाइएकाे छ ।
स्थानीय राज ब्रुअरी प्रा लिकाे उद्योग क्षेत्र भित्र संरक्षित पंक्षी सारसकाे गुँड देखिए पछि यसलाई संरक्षित गर्न भनिएकाे पश्चिम नवलपरासीका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बताए ।


अधिकृत क्षेत्रीका अनुसार उद्योग बिस्तारका लागि खाडल खन्न जाँदै गरेकाे डाेजरलाई माउ सारसले आक्रामक ढंगले ठुग्न आए पछि २ अण्डा सहितकाे सारसकाे गुँड पत्ता लागेकाे हाे ।

अण्डा काेरल्दै गरेकाे सारसलाई काेही कसैबाट हस्तक्षेप नभए करिव एक डेढ महिनामा अण्डाबाट बच्चा निस्केर हुर्कि सक्ने हुँदा गुँडलाई सुरक्षित गरी राख्न उद्योग प्रशासनलाई निर्देशन गरिएकाे क्षेत्रीले बताए ।

बैज्ञानिक नाम ग्रस एन्टिगन भनिने राताे घाँटी,खैराे जिउकाे विश्वकै दूर्लभ प्रजातिकाे उक्त सारसले जाे काेहिलाई गुँड नजिक जान नदिए पछि गुँडकाे अवस्था बारे ड्राेन क्यामरा प्रयाेग गरि जानकारी लिईएकाे थियाे ।
सारस नेपालका डाँफे,मुनाल,खर मजुर,सानाे खरमजुर,चिर कालिज,राजधनेस,कालाे भूडिफाेर गरूड र सेताे भुडिफाेर सहितका ९ संरक्षित पंक्षी मध्येकाे १ संकटापन्न पंक्षी हाे ।

तराई क्षेत्रमा मानव बस्ती बढ्दै जाँदा नवलपरासी पूर्व र पश्चिमका सिमसारहरू क्रमश: अतिक्रमणकाे चपेटामा परे पछि साररकाे संख्यामा पनि कमी आएकाे पंक्षीविदहरूले बताएकाछन् ।

नवलपुरकाे जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयाेजक एवं पंक्षी संरक्षणकर्मी डिबी चाैधरीका अनुसार विभिन्न ताल तलैया वरपर धापिलाे जमिनका हाेचा झाडीमा सारसले गुँड बनाएर अण्डा पार्ने गर्दछ ।

केही वर्ष अघि सम्म नवलपुर क्षेत्रमै पनि यसका गुँड भेटिने गरेकाे भए पनि पछिल्लो समय सारसका गुँड लुम्बिनी क्षेत्र आसपास मात्र भेटिने गरेकाे छ । 

चाैधरीकाे भनाईमा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने अमलटारी बस्ती नजिक स्थानीय बाेलिचालीकाे भाषामा सारहंश भनिने सारस टाेलनै रहेकाे छ ।

यसै सम्बन्ध नेपाल पंक्षीविद संघ बाग्मती प्रदेश संयाेजक बाशु बिडारीका अनुसार सारस एक अनाैठाे किसिमकाे सामाजिक पंक्षी हाे जुन सन २०१२ पछि चितवन जिल्ला आसपास देखापरेकाे छैन ।

वर्षादकाे समयमा प्रजनन कार्यमा सक्रीय रहने सारसहरूले एक आपसमा भेला हुने,नाच्ने गर्दछन् ताकि पछि जन्मने सन्तानहरूमा आपसी साैहार्दता बनाई राख्न अचम्मकाे दृश्य प्रदर्शन गर्ने बिडारीले बताए ।