चीनमा सम्पन्न फेस्टिभलका विजेतालाई काठमाडौँमा अवार्ड


चीनको हुनान प्रान्तस्थित छाङ्सामा गत अप्रिल १४ देखि १९ सम्म सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल (नेपाली फिल्म सप्ताह) का उत्कृष्ट फिल्म, कलाकार तथा प्राविधिकलाई काठमाडौँमा हालै आयोजित विशेष समारोहबीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा चीनबाट आएको ८ सदस्यीय प्रतिनिधिमण्डल पनि सहभागी थियो। कार्यक्रममा एन्जिलाले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गर्दै ४ हजार अमेरिकी डलर नगद पुरस्कार जित्यो। तेल भिसाका निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार अमेरिकी डलरको विजेता भए।

अभिनयतर्फ छक्का पञ्जाका दीपकराज गिरी र कबड्डी ४ की मिरुना मगर उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए। दुवैले जनही १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे। प्राविधिकतर्फ महाजात्राका पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार, होस्टेल ३ का बनिष शाह र विकास दाहालले उत्कृष्ट सम्पादन विधाको विजेता हुँदै १–१ हजार अमेरिकी डलर प्राप्त गरे।

समारोहमा नेपाल–चीन फिल्म सहकार्यलाई सुदृढ बनाउन योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रममा फेस्टिभलका संस्थापक अध्यक्ष लि हङ्सुले कला र सिनेमाको कुनै भौगोलिक सीमा नहुने उल्लेख गर्दै नेपाल र चीनबीच फिल्ममार्फत सांस्कृतिक आदानप्रदानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। नेपालतर्फका फेस्टिभल अध्यक्ष करुण थापाले यो पहल नेपाली फिल्मका लागि चिनिया“ सिनेमा हल र ओटीटी प्लेटफर्मसम्म पुग्ने ऐतिहासिक अवसर भएको बताए।