काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका अग्रज नेता गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेसको वरिष्ठ नेता बनाउने घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लामो समयदेखि पार्टी र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिने घोषणा गर्नुभएको हो ।
थापाको यो निर्णयलाई कांग्रेसभित्र अनुभव, योगदान र पुस्तान्तरणबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ । पार्टीभित्र पछिल्लो समय संगठन सुदृढीकरण, नेतृत्व पुनर्संरचना र आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भइरहेका बेला गरिएको यो घोषणाले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ ।
हाल स्वास्थ्य उपचारमा रहनुभएका नेता श्रेष्ठ केही समयदेखि क्यान्सर रोगसँग जुधिरहनुभएको छ । उपचारका क्रममा उहाँ केही समय भारतमा रहेर उपचार गराएपछि अहिले नेपालमै चिकित्सकको निगरानीमा हुनुहुन्छ । स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिमा कम देखिए पनि पार्टीका महत्वपूर्ण विषयमा उहाँले निरन्तर चासो राख्दै आउनुभएको छ ।
विशेष महाधिवेशनको पक्षमा खुलेर धारणा राख्नुभएका श्रेष्ठले पछिल्लो समय पार्टीलाई समयानुकूल पुनर्गठन गर्नुपर्ने, नेतृत्वले संगठनलाई थप गतिशील बनाउनुपर्ने र कार्यकर्ताको भावना सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आउनुभएको थियो । उहाँको यही स्पष्ट धारणा कांग्रेसभित्र बहसको विषय पनि बनेको थियो ।
गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका पुराना र अनुभवी नेतामध्ये एक मानिनुहुन्छ । विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा पञ्चायतविरुद्धको लोकतान्त्रिक आन्दोलन, बहुदलीय व्यवस्थाको पुनःस्थापना र गणतन्त्र स्थापनासम्म निरन्तर सक्रिय रह्यो ।उहाँले कांग्रेसमा विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा कार्यवाहक सभापति, उपसभापति, केन्द्रीय सदस्य लगायतका महत्वपूर्ण पदमा रहेर काम गरिसक्नु भएको छ । संगठन निर्माण, पार्टी व्यवस्थापन र निर्वाचन परिचालनमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ ।
श्रेष्ठ लामो समयसम्म नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका निकट सहयोगीका रूपमा परिचित हुनुहुन्थ्यो । देउवा नेतृत्वका विभिन्न कार्यकालमा उहाँले संगठनात्मक तथा राजनीतिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा सभापति थापाले लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले पु¥याएको योगदानको प्रशंसा गर्दै पार्टीले उहाँको अनुभवबाट अझै लाभ लिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । उहाँले कांग्रेसलाई एकताबद्ध, सुदृढ र जनविश्वासयोग्य बनाउन अग्रज नेताहरूको अनुभव अपरिहार्य रहेको धारणा पनि व्यक्त गर्नुभयो ।











प्रतिक्रिया