भाइरल डोर–किकिङ ट्रेन्डले बढायो त्रास


सामाजिक सञ्जालमा भाइरल भइरहेको डोर–किकिङ (ढोकामा लात हानेर भाग्ने) ट्रेन्डले अमेरिकाको आयोवा राज्यका स्थानीय बासिन्दालाई त्रसित बनाएको छ।

जुलाई १३ को बिहान सबेरै आयोवाको अर्बान्डेल क्षेत्रमा बसोबास गर्ने धेरै मानिसहरू ठूलो आवाजले ब्युँझिए। सुरुमा उनीहरूले कसैले घरको सिसा फुटाएर जबरजस्ती घरभित्र पस्न खोजेको अनुमान गरे। तर घरमा जडान गरिएको ‘रिङ’ डोरबेल क्यामेराको भिडियो हेर्दा वास्तविकता फरक देखियो।

क्यामेरामा कैद भएको दृश्यअनुसार केही किशोरहरूले घरको मुख्य ढोकामा जोडले लात हानेर तत्काल त्यहाँबाट भागेका थिए। उनीहरूमध्ये एकले मोबाइल फोनबाट उक्त घटनाको भिडियोसमेत रेकर्ड गरिरहेको देखिएको थियो।

‘डोर–किकिङ’ ट्रेन्डमा सहभागीहरू रातको समयमा वा बिहान सबेरै अपरिचित घरको ढोकामा जोडले लात हानेर वा ठोक्क्याएर भाग्ने गर्छन्। त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर लोकप्रियता कमाउने उद्देश्यले यस्तो गतिविधि गर्ने गरिएको बताइएको छ।

अर्बान्डेल प्रहरीले हालसम्म शहरमा यस्तै एउटा मात्र घटना दर्ता भएको जनाएको छ। तर गर्मीयाममा यस्ता मजाकका घटना बढ्न सक्ने भन्दै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

यसअघि सन् २०२५ नोभेम्बर २३ मा फ्लोरिडामा पनि यही चुनौतीमा सहभागी भएका तीन किशोर पक्राउ परेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरूले राति घरको ढोकामा जोडले लात हानेपछि घरधनीले चोर आक्रमण गर्न आएको ठानेका थिए। घरधनीले प्रहरीलाई आफ्नो श्रीमान् बन्दुक लिएर ढोका खोल्न तयार रहेको जानकारी दिएका थिए।

घटनापछि प्रहरीले किशोरहरूलाई, “ढोकामा लात हान्दा घरधनीले तपाईंहरूलाई चोर ठानेर गोली हान्न सक्छन् भन्ने सोच्नुभएको थियो?” भनेर सोधेको भिडियो पनि सार्वजनिक भएको थियो।

प्रहरीले सामाजिक सञ्जालमा लोकप्रिय हुनका लागि यस्ता जोखिमपूर्ण चुनौतीमा सहभागी नहुन र अभिभावकलाई आफ्ना बालबालिकाको अनलाइन गतिविधिमाथि निगरानी बढाउन आग्रह गरेको छ।

स्रोत: पीपुल