ककटेलमा सानो आकर्षक छाता किन राखिन्छ? रोचक इतिहास


ककटेलमा राखिने सानो रंगीन छाता केवल सजावटका लागि हो भन्ने धेरैको धारणा छ। तर यसको इतिहास निकै रोचक र केही हदसम्म रहस्यमय पनि छ।

ककटेल इतिहासका जानकार डेल डेग्रोफका अनुसार सजावटी कागजी छाताको उत्पत्ति सम्भवतः चीनबाट भएको हो। ऐतिहासिक अभिलेखअनुसार कागजका छाता इस्वी सन् २२ देखि नै प्रयोगमा थिए। त्यसैले आज ककटेलमा देखिने सानो छाताको प्रेरणा पनि त्यहीँबाट आएको मानिन्छ।

तर यो सानो छाता कसरी ‘टिकी ककटेल’ अर्थात् दक्षिण प्रशान्त टापुहरूको शैलीबाट प्रेरित पेयसँग जोडियो भन्ने विषयमा फरक–फरक धारणा छन्।

एक मतअनुसार दोस्रो विश्वयुद्धपछि दक्षिण प्रशान्त क्षेत्रमा कार्यरत अमेरिकी सैनिकहरूले यस्ता छाताको अवधारणा अमेरिकामा ल्याएका थिए। अर्काे चर्चित कथाअनुसार सन् १९५९ मा हवाईको हिल्टन वाइकिकी होटलका बारटेन्डर ह्यारी यीले पहिलोपटक ककटेलमा सानो छाता प्रयोग गरेका थिए। उनले पहिले उखुको टुक्राले पेय सजाउने गर्थे। तर ग्राहकहरूले उखु चपाएपछि खरानीदानमा फाल्न थालेकाले त्यसको सट्टा सानो रंगीन छाता प्रयोग गर्न थालेको बताइन्छ।

यद्यपि केही इतिहासकारहरू भने यो श्रेय ‘डन द बीचकम्बर’ रेस्टुरेन्टका संस्थापक डन बीचलाई दिन्छन्। उनी सन् १९३२ तिर टिकी शैलीका ककटेललाई लोकप्रिय बनाउने अग्रणी व्यक्ति मानिन्छन्। उनले दक्षिण प्रशान्तबाट ल्याएका सजावटी सामग्रीसँगै ककटेलमा सानो छाता प्रयोग गर्ने चलन सुरु गरेको विश्वास गरिन्छ।

समयसँगै यो सानो छाता टिकी ककटेलको पहिचान नै बन्यो। यसको वास्तविक उद्देश्य भने अझै स्पष्ट छैन। केहीले यसले घामबाट पेयलाई छायाँ दिएर बरफ ढिलो पग्लिन मद्दत गर्छ भन्ने दाबी गर्छन्। तर विशेषज्ञहरूले यसको कुनै वैज्ञानिक आधार नभएको बताउँछन्। उनीहरूका अनुसार यसको मुख्य उद्देश्य ककटेललाई आकर्षक, रमाइलो र विशेष देखाउनु हो।

कतिपयले सुरुका दिनमा बारहरूमा महिला ग्राहक आकर्षित गर्न पनि यस्ता रंगीन सजावट प्रयोग गरिएको हुन सक्ने अनुमान गर्छन्, यद्यपि यसको पुष्टि गर्ने ठोस प्रमाण छैन।

आज संसारभरका बार र रेस्टुरेन्टमा सानो रंगीन छाताले सजिएको ककटेल केवल पेय मात्र होइन, छुट्टीको अनुभूति, समुद्री किनारको माहोल र रमाइलो क्षणको प्रतीकका रूपमा परिचित छ। यही कारणले दशकौँ बितिसक्दा पनि ककटेलमाथि सजिने यो सानो छाताको लोकप्रियता अझै घटेको छैन।

एजेन्सी