स्पेनी व्यावसायिक टोली नेपाल आउने


काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको छ । दुवै संस्थाले आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारीसँगै आगामी वर्ष स्पेनी व्यवसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने सहमति गरेका छन् ।

नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले नेपाल–स्पेनबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका विविध सम्भावनाबारे विस्तृत छलफल गरेका हुन् ।

छलफलका क्रममा नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व तथा भारत र चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले व्यापार र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गर्दै सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्ममा दुई चेम्बरबीच एमओयूमा हस्ताक्षर गरी सहकार्यलाई औपचारिक र संस्थागत बनाउने सहमति भएको छ ।

यसैगरी, स्पेनिश चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्च महिनामा करिब आठदेखि नौ स्पेनी कम्पनी सम्मिलित व्यवसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको जनाएको छ । उक्त भ्रमणका क्रममा नेपाली र स्पेनी व्यवसायीबीच प्रत्यक्ष भेटघाट, व्यावसायिक साझेदारी तथा नयाँ लगानीका अवसर पहिचान गर्न विशेष व्यवसायिक फोरम आयोजना गरिनेछ ।

भेटवार्तामा व्यापार तथा लगानी प्रवद्र्धनका लागि सरकारी तहको समन्वयलाई प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ (ईयू) र भारतबीच जारी व्यापार वार्ताबाट नेपालले प्राप्त गर्न सक्ने सम्भावित अवसरहरूको उपयोग गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधनलाई भविष्यका प्राथमिक सहकार्य क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी तथा सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह तथा बाँसजन्य उत्पादनहरूको स्पेनमा निर्यात विस्तारको पर्याप्त सम्भावना रहेको उल्लेख गरिएको थियो । त्यसैगरी स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि उपकरण, स्वास्थ्य सेवा उपकरण, पानी प्रशोधन प्रणाली तथा पर्यटन व्यवस्थापनका क्षेत्रमा आफ्नो आधुनिक प्रविधि र अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरेको छ ।

छलफलमा म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा दुवै देशका व्यवसायीको सक्रिय सहभागिता सुनिश्चित गर्दै द्विपक्षीय व्यापार विस्तार गर्ने तथा डिजिटल व्यापार र ई–कमर्समार्फत नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने विषयमा पनि जोड दिइएको थियो ।

दक्षिण एसियामा अनुभव हासिल गरिसकेका स्पेनी कम्पनीहरू नेपालका पूर्वाधार विकास, स्वच्छ ऊर्जा तथा दिगो लगानीका परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने धारणा पनि बैठकमा व्यक्त गरिएको थियो ।

भेटवार्ताको अन्त्यमा दुवै चेम्बरका प्रतिनिधिहरूले संस्थागत सहकार्य, नियमित व्यवसायिक भ्रमण तथा निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेनबीचको व्यापार, लगानी र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरेका छन् ।