दोलखा ।
मंगलवार रातिको अविरल बर्षापछिको पहिरोले दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मुलखर्कमा रहेको ९ मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम पूर्ण रुपमा क्षति भएको छ भने स्थानीय ७५ बर्षिय चसमान तमाङ बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ ।
मंगलवार राति ११ः३० बजेतिर सिप्रिङ खोलामा बाढी आएपछि सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम पुरीएको र आयोजनामा रहेको आफु लगायत अन्य साथिहरु डिलमा बसेर बचेको आयोजनाका कर्मचारी मनिक श्रेष्ठ (मनिक बिनोद श्रेष्ठ) ले बताए । आयोजनाको ड्याम नजिक गाई गोठ राखेर बसेको चसमान तमाङ र उनको गोठमा रहेको १० वटा गाई तथा २५ भन्दा बढी खसी– बाख्रा बगाएको श्रेष्ठले बताए । आयोजनाको ड्याम साईटमा बस्दै आएको आफु सहित सुकदेव श्रेष्ठ, कल्याण विश्वकर्मा र सूर्य बहादुर तमाङ ड्याम भन्दा माथिको डिलबाट स्थानीयको सहयोगमा सुरक्षित निस्किएको मनिक श्रेष्ठले बताए ।
प्रहरीले आफुहरुको अवस्थाबारे जानकारी लिईरहेको र आफुहरु सुरक्षित बाहिर निस्किएको जानकारी प्रहरीलाई गराएको श्रेष्ठले बताए । राति खोलामा बाढी आई पहिरो खस्न थालेपछि आफुहरु भागेर माथि डिलमा पुगेको पनि उनले बताए । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष खड्का पहिरोमा हराएका मानिसको खोजिको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको बताए । गौरीशङ्कर गाउापालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पा सिप्रिङ खोला आयोजनाको ड्याममा पहिरोले क्षति पुगेको जानकारी आएपछि वडाले आवश्यक समन्वय गरी उद्दार तथा खोजिको काम गरिरहेको बताउछन् ।











प्रतिक्रिया