साहस, नेतृत्व र प्रेरणाको ऐतिहासिक यात्रा

658
Shares

नेपालको कुल जनसंख्याको करिब ५.६ प्रतिशत हिस्सा ओगटेको तामाङ समुदाय आफ्नै भाषा, धर्म, संस्कृति र परम्परासहितको प्राचीन आदिवासी जनजाति समुदाय हो । विगतमा शिक्षा, रोजगारी र नेतृत्वका क्षेत्रमा विभिन्न चुनौती सामना गर्दै आएको यस समुदायबाट पछिल्लो समय धेरै महिलाहरूले उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । यही यात्रामा मेजर शान्ति मोक्तान लामा एक प्रेरणादायी उदाहरणका रूपमा स्थापित हुनुभएको छ ।

मेजर शान्ति मोक्तान लामा नेपाली सेनाको इतिहासमा पहिलो तामाङ महिला अधिकृत बन्न सफल गौरवशाली व्यक्तित्व हुनुहुन्छ । उहाँ सन् २००६ मा नेपाली सेनाको महिला पैदल सेना सेवामा प्रवेश गर्नुभएको थियो । आफ्नो साहस, अनुशासन, लगनशीलता र नेतृत्व क्षमताका कारण उहाँले सैन्य क्षेत्रमा विशेष पहिचान बनाउन सफल हुनुभयो ।

सैनिक सेवासँगै उहाँ नेपाली सेनाको सञ्चार क्षेत्रमा समेत योगदान पु¥याउने पहिलो महिला अधिकृतमध्ये एक हुनुहुन्छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक पूरा गर्नुभएको छ । सन् २०१४ र २०१८–२०१९ मा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत रहँदा उहाँले नागरिक सुरक्षा, गस्ती, महिला समन्वय तथा लजिस्टिक व्यवस्थापनजस्ता संवेदनशील जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

वुमन, प्लेस एन्ड सेक्युरिटी, चाइल्ड प्रोटेकसन तथा महिला नेतृत्व विकाससम्बन्धी क्षेत्रमा समेत उहाँले योगदान दिनुभएको छ । फिमेल फोकल प्वाइन्ट अफिसरको भूमिकामा रहेर उहाँले महिला सहभागिता र सुरक्षाका विषयमा महत्वपूर्ण भूमिका खेल्नुभयो ।

मेजर शान्ति मोक्तान लामाको यात्रा नेपाली महिलाको क्षमता, साहस र नेतृत्वको उदाहरण मात्र नभई तामाङ समुदायका महिलाहरूका लागि प्रेरणाको स्रोत पनि हो । उहाँकै प्रेरणाबाट उहाँकी बहिनी शिचान मोक्तान पनि नेपाली सेनामा मेजर पदमा कार्यरत हुनुहुन्छ । आज नेपाली सेनाको अधिकृत तहमा धेरै तामाङ महिला अधिकृतहरूको सहभागिताले समुदायमा बढ्दै गएको महिला सशक्तीकरणलाई देखाउँछ ।

मेजर शान्ति मोक्तान लामा आफ्नो योगदान, समर्पण र उपलब्धिका कारण तामाङ समुदाय मात्र नभई सम्पूर्ण नेपाली महिलाहरूका लागि गर्व र प्रेरणाको प्रतीक बन्नुभएको छ ।