शून्य सदस्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा खारेज गर्ने बहस चलाइरहँदा ठूला दल भनिएकाहरु सत्ता परिवर्तनको दाउमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को खिचलोका कारण प्रदेशसभा राजनीतिक बन्दी बनेको छ । तीन दल सत्तामा रुमलिएका कारण सातवटै प्रदेशमा सत्ता फेरबदल हुने सम्भावना छ । हुन त तीन दल मिलेर प्रदेश सरकार बनाउने हल्ला नचलेको होइन तर नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षविहीन सरकारको औचित्य नभएको भन्दै दुई दलको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसले तीन दलको सहकार्यमा सरकार बनाउने विषय इन्कार गरेपछि नेकपा एमाले र नेकपा सरकार बनाउने कसरतमा लागेका छन् । एमालेका महासचिव शंकर पोखरेल र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका दुई दलका संयन्त्र सातै प्रदेशमा लागिरहेका छन् । दुई दलको सहमति भए केही प्रदेशमा सरकार परिवर्तन हुन सक्छ । नेपाली कांग्रेसले पनि आफ्नै तहबाट नेकपासँग छलफल जारी राखेको छ । राजनीतिक खिचातानीले बिगारेको प्रदेश सरकार कहिल्यै पनि स्थिर हुन सकेन । पार्टी अध्यक्षलाई चित्त नबुझे तत्काल सरकार परिवर्तन गर्नुपर्छ भन्ने लहडको कारण समस्या बनेको छ । तीन दलको अहंताले जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि संघमा सत्ताविहीन भएको दललाई अझै पनि सत्तामोह छ । त्यसको फलस्वरुप प्रदेश सरकार परिवर्तनको खेलमा लागेका छन् ।
संविधानको मर्म र जनताका दुःख–दर्द बिर्सेर सत्ताको खेलमा रुमलिएकै कारण प्रदेशसभा अनिर्णयको बन्दी बनेको हो । आन्दोलनपछि पनि परिवर्तन हुन नसकेका राजनीतिक दलले अझै पनि प्रदेश सरकार बनाउन फोहोरी राजनीति गरिरहेका छन् । यो संविधान आरम्भ भएदेखि नै संघकै समीकरणअनुसार प्रदेशमा सरकार बदल्ने कार्य भइरह्यो । संघमा सत्तामा फर्कने सम्भावना सकिएका नेताहरू प्रदेशमा आफ्नै पार्टीको सरकार बनाउने मोहमा छन् । अर्थात् नीन दलले हाम्रो नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने रटान छाडेका छैनन् । सुदूरपश्चिममा प्रदेश सरकारको बजेट पुनर्लेखन विवादसँगै एमालेबाट मन्त्री भएकाहरू सरकारबाट बाहिरिएका थिए । यहाँ नेकपाले सकेसम्म सरकार बनाउने, नभए एमालेलाई पछारेर नेपाली कांग्रेससँग मिली सरकार बनाउने दाउमा छन् । मधेस प्रदेशमा पनि नेकपाका अध्यक्ष सरकार बनाउने चलखेमा लागेका छन् ।
कर्णाली प्रदेशमा एमालेका मुख्यमन्त्रीविरुद्ध सत्ता सहयात्री कांग्रेसकै अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । बागमती प्रदेशमा एमालेले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ । पछिल्लो अवस्थामा एमालेले सरकार बनाउन विभिन्न गतिविधि गरिरहेका छन् । गण्डकी र लुम्बिनी प्रदेशमा पनि अन्यत्र समीकरण बदलिएपछि त्यसको प्रभाव पर्न शुरु भएको छ । दुई प्रदेशमा तीन दलले सरकार परिवर्तन गर्ने रणनीति बनाइरहेका छन् । कोशीबाट भने अहिलेकै समीकरण कायम राख्न नेपाली कांग्रेसका नेताहरूले आग्रह गरेका छन् ।
तीन वर्षमा ६ पटक सरकार परिवर्तन हुँदा पनि फेरि सरकार परिवर्तनको चक्करमा लागेका छन् । नेपालको संविधानअनुसार २०७४ मा भएको प्रदेशसभा निर्वाचनपछि हरेक वर्ष प्रदेश सरकारहरू पनि केन्द्रसँगै अस्थिर बनाइए । त्यसको मुख्य कारण संघ सरकार परिवर्तन नै हो । स्थिर सरकारको परिकल्पना गरिरहेका जनता पटक–पटक सरकार परिवर्तन भइरहँदा वाक्कदिक्क भएका छन् । सत्ता फेरबदलको अनन्त चक्रका कारण प्रदेशमा दलप्रति नकारात्मक भावना बढेको छ ।











प्रतिक्रिया